डोल्पाका विद्यालय प्रविधिमैत्री बन्दै
Monday, August 1st, 2022, 2:57 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, १६ साउन १६
डोल्पा जिल्लाका सामुदायिक विद्यालयहरुलाई प्रविधिमैत्री बनाउने प्रयासको थालनी गरिएको छ । युरोपियन यूनियनको आर्थिक सहयोग तथा प्लान नेपालको साझेदारी र स्याक नेपालको समन्वयमा ‘स्टिम अहेड’ परियोजनाअन्तर्गत विद्यालयहरुलाई प्रविधिमैत्री बनाउने प्रयासको थालिएको हो ।
विभिन्न सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापक तथा शिक्षकहरुलाई प्रविधिमैत्री बनाउने प्रयासअन्तर्गत शिक्षा शिक्षण तथा सामाग्री निमार्णसम्बन्धी प्रशिक्षक प्रशिक्षण सम्बन्धि तालिम दिइएको छ ।
ठुलीभेरी नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा कार्यरत २३ जना र त्रिपुरासुन्दरी नगरपालिका क्षेत्रका विद्यालयमा कार्यरत २४ जना प्रधानाध्यापक र शिक्षकहरु गरी ४७ जनालाई प्रविधिमैत्री शिक्षा प्रर्वद्धन गर्ने उद्देश्यले तालिम दिइएको स्याक नेपाल डोल्पाका कार्यक्रम संयोजक सशी पाण्डेले बताए । सहभागीहरुलाई प्रविधिका माध्यमबाट स्थानीय बालबालिकाहरुलाई कसरी पढाउन सकिन्छ भन्ने उदेश्यका साथ तालिम दिइएको पाण्डेले बताएका छन् ।
नयाँ प्रविधिको विकाससँगै ठुलीभेरी नगरपालिकाभित्र रहेका सामुदायीक विद्यालयलाई प्रविधिमैत्री वातावरणमा शिक्षण गर्नका लागि प्रविधिमैत्री प्रयासको शुरुवात गरिएको ठुलीभेरी नगरपालिका शिक्षा शाखा प्रमुख कमल बुढाले बताए ।
सहभागिहरुलाई तालिममा सिकेको सिप ज्ञानलाई विद्यालयमा गएर लागू गर्नु पर्नेमा उनको जोड थियो ।
प्लान नेपाल र स्याक नेपालको साझेदारीमा ठुलीभेरी नगरपालिकाको जुफालमा रहेको आर्दश माध्यामीक विद्यालय र त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोट माध्यामिक विद्यालय मदुमा मेकर स्पेसको स्थापना गरिएको छ ।
मेक भनेकोे बनाउनु स्पेस भनेको ठाउँ जनाउछ । मेकर स्पेसको स्थापनाले बालबालिकाले पाठयक्रमको शिक्षासँगै प्राविधिक ज्ञान हासिल गर्न सहज हने बताइएको छ ।
विद्यालयमा मेकर स्पेसको प्रयोगशालालाई नियमित सहजीकरण गर्ने, सबै विधालयमा विधार्थीको पहुँच सुनिश्चत गर्ने, प्रयोगशालालाई नियमित अध्यावधिक गर्नेलगायतका उद्देश्यका साथ प्रधानाध्यापक तथा शिक्षकलाई तालिम दिइएको हो ।
विद्यालयस्तरका बालबालिकाहरुलाई प्रविधिसँग जोड्नको लागि पहिलो चरणमा दुईवटा विद्यालयमा ल्यापटप डेस्कटप क्म्प्युटरलगायतका विभिन्न सामाग्रीहरुसमेत उपलब्ध गराइएको स्याक नेपाल डोल्पाका कार्यक्रम संयोजक सशी पाण्डेले जानकारी दिए ।
अहिले प्रविधिको युग भएकोले शिक्षक सधै प्रविधिसँग अपडेट हुन जरुरी रहेकाले तालिमले थप मद्दत गर्ने विश्वास रहेको त्रिपुरासुन्दरी नगरपालिकाका नगर प्रमुख जनचन्द्र रोकायाले बताए । प्लान नेपाल र स्याक नेपालले त्रिपुरासुन्दरी नगरपालिका भित्रको गुणस्तरीय र प्रविधिमैत्री शिक्षा विकासको लागि महत्वपूर्ण भूमिका खेल्दै आइरहेको समेत नगर प्रमुख रोकायाले बताए ।
त्रिपुराकोट माविमा स्थापना भएको मेकर स्पेश कार्यक्रम अत्यन्तै राम्रो र प्रभावकारी भएकोले आगामी दिनमा स्थानीय सरकारसँग समन्वय गरी नगरपालिका भित्रका अन्य विद्यालयहरुमा पनि स्थापना गर्ने त्रिपुरासुन्दरी नगरपालिका शिक्षा शाखा प्रमुख भीमबहादुर थापाले बताए ।