अपोलोको ‘सुपर स्पेसलिष्ट ओपीडी’ रुपइडिहामा सुरु
Saturday, August 6th, 2022, 9:07 pm
Kalpristha
नेपालगन्जको सिमावर्ती बजार रुपइडिहामा लखनऊको प्रसिद्ध अपोलो मेडिक्स अस्पतालले शनिबारबाट सुपर स्पेसलिष्ट ओपीडी सेवा सुरु गरेको छ ।
रुपइडिहाको अमान किदवई कम्प्लेक्स, इँग्लिश मिडियम प्राइमरी स्कूलकै सामुन्ने बहराइचका एमएलसी डा. प्रज्ञा त्रिपाठी, बहराइच जिल्लाका बिजेपी अध्यक्ष श्याम करन, टेकडीवाल र सोही जिल्लाकै प्रहरी प्रमुख एडिसनल एसपी ज्ञानन्जय सिंहले संयुक्तरुपमा सुपर स्पेसलिष्ट ओपीडी सेवाको उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा अपोलो अस्पतालका प्रसिद्ध न्युरोलोजिष्ट विशेषज्ञ डा. धवल नारांग, नेफ्रोलोजी एवम् मृगौला रोग विशेषज्ञ डा. जाँनी अग्रवाल, नेपालगन्जका उपमेयर कमरुद्दिन राई, रुपइडिहाका सर्पन्चलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै एमएलसी डा. प्रज्ञाले अब नेपालीलाई लखनऊ जानै नपर्ने बताइन् । त्यस्तै एडिसनल एसपी ज्ञानन्जयले अपोलो अस्पताल सुरु गरेको यो सेवाले सबैलाई फाइदा पुग्ने बताउँदै लखनऊ जाने र समय र पैसाको बचत हने बताए ।
उद्घाटन दिनमा सुपर स्पेसलिष्ट ओपीडी सेवामा प्रसिद्ध न्युरोलोजिष्ट विशेषज्ञ डा. नारांग, नेफ्रोलोजी एवम् मृगौला रोग विशेषज्ञ डा. अग्रवालले सय बढी नेपाली तथा रुपइडिहावासीको स्वास्थ्य जाँच गरेका छन् । अब हरेक महिनाको पहिलो शनिबार ३ बजेदेखि साँझ ५ बजेसम्म उक्त सेवा दिइनेछ ।