चट्याङका कारण गुरौगाउँ शोकमा
Wednesday, August 31st, 2022, 6:52 pm
Kalpristha
लिलाधर वली
दाङमा चट्याङ लागेर दुई जना किशोरीको मृत्यु भएको छ । नेपाली नारीहरुको हरितालिका तीजको दिन मंगलवार राती नाचगान गर्ने क्रममा घोराही उपमहानगरपालिका–१२ गुरौगाउँको सालडाँडामा २ जना किशोरीहरुको मृत्यु भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एव प्रहरी नायव उपरीक्षक राजन गौतमले जानकारी दिएका छन् ।
उनका अनुसार घट्नामा मृत्यु हुनेमा गरौगाउँ निवासी १६ बर्षीय दीपा घर्ती र १९ बर्षीय मनिसा शाह रहेका छन् । मंगलवार साँझ करिव ६ बजेतिर घट्ना घटेको थियो । तीजको दिन सालडाडाँमा नाचेर घरफर्किने क्रममा उनीहरुलाई नयाँ बस्ती भन्ने ठाउँमा चट्याङले हान्दा उक्त घट्ना घटेको प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक गौतमले जानकारी दिए । ‘घटना मंगलवार बेलुकी करीव ६ बजेतिरको हो । पानी परेको र फोन सम्पर्क नभएपछि ढिला गरी आफुलाई जानकारी आएको थियो’, उनले भने,‘ जानकारी आएपछि प्रहरी विहानमात्र घटना स्थल पुगेको हो ।’ उक्त घट्नामा थप ९ जना महिला घाइते भएका छन् । मृतक शाह विवाहीत हुन । उनी तीज मनाउन माइत आएकी थिइन । उनको गत वर्ष गाउँदेखि झण्डै एक घण्टा समय लाग्ने खरिबोट गाउँमा विवाह भएको थियो । अर्की मृतक घर्तीले यसै वर्ष एसईई पास गरेर उच्च शिक्षाको तयारीमा थिइन ।
चट्याङमा परेर गाउँका १५ बर्षीय निरुता शाह, १५ बर्षीय जयन्ती घर्तीमगर, १६ बर्षीय मायुसरी थापा, ३८ बर्षीय यमकुमारी शाह, १४ बर्षीय अन्जना घर्र्ती, ३८ बर्षीय बेलकुमारी घर्ती, ४२ बर्षीय मनकुमारी वली, १५ बर्षीय सावित्रा वली र ४ बर्षीय जेनिशा शाह छन् । घटना स्थलमा फोन पनि नलाग्ने र दुर्गम भएकाले घाइतेलाई डोकोमा राखेर उपचारका लागि घोराही ल्याइएको प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक गौतमले बताए । ‘पहाडको ठाउँ भएकाले अप्ठ्यारो भूगोल छ । सञ्चारको पनि सुविधा छैन’,प्रवक्ता गौतमले भने ‘त्यसैले घाइतेलाई मानिसले डोकोमा राखेर चार घण्टा बोकेर हापुरसम्म ल्याउनु परेको थियो ।’ उनका अनुसार घाइतेहरुको घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।
घटनाको खबर प्राप्त गरेपछि वडा अध्यक्ष दोर्ण बहकरी विहानै घटना भएको गाउँमा पुगेका थिए ।
गाउँमा पुग्नको लागि पैदल ४ घण्टा धेरै सयम लाग्छ । घटना भएपछि सबै रुवाबासी चल्यो, पानी ठूलो परेकाले खबर गर्ने अवस्था पनि मिलेनछ । खबर आउनासाथ प्रहरीलाई खबर गरेर साढे ३ घण्टा पैदल हिँडेर घटना स्थल आईपुगेका हौँ’, वडाअध्यक्ष बहकरीले भने,‘गाउँ पुरै शोकमा छ ।’ घटनामा घाईते भएकाहरुलाई डोकोमा बोकेर साढे ३ घण्टापछि तल बाटोमा पुयाएको उनले बताए । तल बाटोमा ल्याइएका घाइतेलाई घोराहीबाट २ वटा एम्बुलेन्सले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याएका थिए । घटना भएपछि गुरौँ गाउँ अहिले शोकमा डुबेको छ । रोल्पा र दाङको सीमा क्षेत्रमा पर्ने गुरौँ गाउँ बिकट भएकाले आधारभूत सेवा सुविधा पाउन निकै कठिन रहेको छ । यो गाउँमा झण्डै ७० भन्दा धेरै घरधुरी छन् ।

मृत्यु हुनेमा गरौगाउँ निवासी १६ बर्षीय दीपा घर्ती

मृत्यु हुनेमा गरौगाउँ निवासी १९ बर्षीय मनिसा शाह