सुधार ल्याउने गरी काम गर्न निर्देशन
Monday, September 5th, 2022, 2:56 pm
Kalpristha
नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले आम नागरवासीले विश्वास जित्नेगरी सेवा सुविधा उपलब्ध गराउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका छन् । नेपालगन्ज उप–महानगरपालिकाको आयोजनामा सोमबारदेखि सुरु भएको स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन गर्दै नगर प्रमुख विष्टले एकवर्षभित्रमा देखिनेगरी सरकारी स्वास्थ्य संस्थाहरुमा सुधार हुनुपर्ने बताए ।
सरकारी स्वास्थ्य संस्थाहरुको सेवासुविधा आम नगरवासीको विश्वास जित्नेगरी सुधार र विस्तार गर्नुपर्ने भन्दै विष्टले स्वास्थ्य र शिक्षालाई आफूले प्राथमिकता दिएको बताए ।
स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख सुनिता पौडेलले नगर क्षेत्रिभित्र स्वास्थ्य सूचक सुधारमा ध्यान दिन आग्रह गरिन् ।
नगर स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर थापाले गत आवको समीक्षा गर्दै राम्रो काम चालू आवमा अनुशरण गर्ने र त्रुटीहरु सुधार गरेर अघि बढ्न समीया गोष्ठी फलदायी हुने बताए ।
नेपालगन्ज उप–महानगरपालिकाअन्तर्गत २३ वटा स्वास्थ्य संस्था रहेका छन् । गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्थालाई पुरस्कृतसमेत गरिने भएको छ ।