दोस्रो हप्तासम्म ‘झिंगेदाउ’ हाउसफुल
Saturday, September 10th, 2022, 8:25 pm
Kalpristha
गत हप्ताबाट प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ’ले हालसम्म पनि देशभरका हलहरुमा दर्शकको साथ पाइरहेको छ । चलचित्र यतिबेला सफलताका साथ दोस्रो हप्तामा प्रवेश गरेको छ ।
दोस्रो हप्तामा प्रवेश गरेता पनि चलचित्र हेर्न आउने दर्शकको संख्या भने झन् बढ्दो छ । शनिबार पनि देशभरलगायत नेपालगन्जमा चलचित्र हाउसफुल हुन सफल भयो ।
नेपालगन्जको क्यूएफएक्स सिनेमाज बागेश्वरीमा शनिबार दिइएको दुई शो’मा दुवै शो हाउसफुल भएको हलका प्रबन्धक सन्जिव शाक्यले जनाएका छन् ।
दिनप्रतिदिन दर्शकको ‘माउथ पब्लिसिटी’ले गर्दा पनि चलचित्रलाई निकै फाइदा पुगेको प्रबन्धक शाक्यको भनाइ छ । अनपेक्षितरुपमा चलचित्रको व्यापार देख्दा निर्माण टिम खुशी छ यतिबेला ।
बलिउडको ठूलो चलचित्र ‘ब्रम्हास्त्र’ पनि नेपाली हलहरुमा लागिरहेको समयमा दोस्रो हप्तासम्म आउँदा पनि ‘झिंगेदाउ’को शो हाउफुल हुनु निकै गर्वको कुरा हो ।
ज्ञानेन्द्र देउजाले निर्देशक गरेको चलचित्र ‘झिंगेदाउ’मा अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, मुकुन भूषाल, हिउँवाला गौतम, विजय देउजा, कुशल विष्टलगायतको अभिनय रहेको छ ।
यो चलचित्र भिमनिधी तिवारीको कथा कृतिमा आधारित रहेको छ । चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । चलचित्र पारिवारिक कथामा आधारित रहेको छ ।