पुल निर्माण भएपछि स्थानीय खुसी
Thursday, September 29th, 2022, 1:57 pm
Kalpristha
लिलाधर वली
दाङ, १३ असोज
दाङको घोराहीमा सहर र गाउँलाई जोड्ने गरी पक्की पुल निर्माण भएपछि स्थानीय खुसी भएका छन् । घोराही उप-महानगरपालिका-१८ र १९ नम्बर वडालाई जोड्ने गरी घोराही-सैघा-स्वर्गद्वारी जोड्ने सडकअन्तर्गत कटुवाखोला पक्की पुलको निर्माण भएपछि स्थानीय खुशी भएका हुन् ।
खोलामा ३५ मिटर लामो पक्क पुल निर्माण भएको हो ।
पुल जयबुद्ध निर्माण सेवा प्रालिले निर्धारित समयभन्दा पहिले नै पुल निर्माण गरेको छ । निर्माण कम्पनीले तीन करोड ८२ लाखको लागतमा २०७७ सालको भदौमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता मितिभन्दा अघि नै पुल निर्माणको काम सकिएको थियो । पुल निर्माण भएपछि स्थानीयलाई घोराही बजार आउन जान सहज भएको स्थानीय रोम थापाले बताए ।
‘खोेलामा पुल नहुँदाको बर्षादको समयमा बजार जान समस्या हुन्थ्यो’,स्थानीय थापाले भने,‘पुल बनेपछि जति ठुलो पानी परेपछि खोलाले छेक्ला भन्ने समस्या हराएको छ । विद्यार्थीलाई पनि स्कुल जान सहज भएको छ ।’ उनले खोलामा बनेको पक्की पुलले स्थानीयलाई सहजतासँगै खुसी थप्ने काम गरेको बताउँछन् ।
पुल निर्माण भएपछि नयाँवस्ती, मर्पेस, खाडालगायतका गाउँबाट किनमेलसँगै पढ्नका लागि बजार आउन स्थानीयलाई सहज भएको छ । पुल निर्माण भएपछि घोराही-१९ र बंगलाचुली गाउँपालिका ग्रामीण क्षेत्रका किसानहरुलाई उत्पादन भएका तरकारी तथा फलफूलहरु बजारसम्म ल्याउनका लागि सहज भएको घोराही उप-महानगरपालिका-१९ का वडा अध्यक्ष ज्ञानबहादुर रायमाझीले बताए ।
‘पुल निर्माणसँगै गाडी गाउँसम्म आउने भएको छ’,वडा अध्यक्ष रायमाझीले भने,‘जसले गर्दा स्थानीयलाई बजार आउन जानसँगै गाउँमा उत्पादन भएको वस्तुसमेत बजार लगेर बेच्न सहज भएको छ ।’
पुल सम्झौता मितिभन्दा १५ दिन अघि नै सम्पन्न भएको पुल निर्माणको जिम्मा पाएको जयबुद्ध निर्माण सेवा प्रालिका प्रतिनिधि जीवन केसीले बताए । ‘हामीले पुल निर्माणको सबै काम सकेका छौं’, उनले भने ,‘त्यो पनि सम्झौता मितिभन्दा अघि नै ।’
पैसा नपाएको व्यवसायीको गुनासो
सम्झौता मितिभन्दा अघि नै पुल निर्माणको काम सकिएपनि निर्माण व्यवसायीले सम्पूणर् पैसा नपाएको गुनासो गरेका छन् । काम गर्ने व्यवसायीलाई प्रोत्साहन र काम नगर्ने व्यवसायीलाई सरकारले दण्ड गर्नुपर्ने भएपनि आफूले पुल निर्माणको काम सकेको करिब एक महिना भैसक्दा पनि पैसा नपाएको बताए ।
‘काम सकिएपनि विलको भुक्तानीका लागि निवेदन दिएको थिए । त्योपनि तीन किस्तामा अपुरो पैसा कार्यालयले दियो’, उनले भने,‘बाँकी रकम अझै पाउन सकेको छैन ।’
उनका अनुसार ५५ देखि ६० लाख रुपैयाँ पाउन बाँकी रहेपनि पुल निर्माणको कार्यान्वयन गराउने निकाय पूर्वाधार विकास कार्यालय दाङले भने उक्त शिर्षकमा पैसा नभएको बताउने गरेको बताउछन् । तर पूर्वाधार विकास कार्यालयले काम गर्ने व्यवसायीले लागत अनुसारको भुक्तानी पाउने बताएको छ ।