मोतिविन्दुको निःशुल्क अपरेशन गरिने
Thursday, September 29th, 2022, 3:41 pm
Kalpristha
नेपालगन्ज उप-महानगरपालिकाले मोतियाविन्दुको निःशुल्क शल्लेक्रिया गर्ने भएको छ । फत्तेबाल आँखा अस्पतालसंगको सहकार्यमा मोतियाविन्दुको निःशुल्क अपरेशन गरिने भएको हो ।
नेपालगन्ज उप-महानगरपालिकाले बिहीबार आयोजना गरेको चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर कमरुद्दिन राईले नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुको सिफारिसमा निःशुल्क अपरेशनको व्यवस्था मिलाइएको बताए । उनले नगरलाई फ्रि-वाईफाई जोन बनाउने गरी काम अन्तिम चरणमा पुगेको समेत जानकारी दिए । उपप्रमुख राईले वडा वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको जानकारी गराउँदै वडाबासीको अनुहारमा देखिएको खुसीले आफूहरुलाई सन्तोष मिलेको बताए ।
दशैं, तिहार, छठ, मोहम्मद डे र गुरुनानक डेको अवसरमा शुभकामना दिँदै उपमेयर राईले यी चाडपर्वहरुले आपसी भाइचारा, एकता र सद्भाव बृद्धि गर्ने बताए । नेपालगञ्ज देशकै नमुना सहर भएको बताउँदै उहाँले एक अर्काको पर्वमा नेपालगञ्जबासीले देखाउने आत्मीयता र सहिष्णुता अद्वितीय रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, प्रबक्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, २ का वडा अध्यक्ष मनोजकुमार श्रेष्ठ, सामाजिक विकास महाशाखा प्रमुख शोभा शाहले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । शुभकामना आदानप्रदान कार्यक्रममा कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी लगायत उपस्थित थिए ।