रहस्यम तरिकाले बाँकेबाट हराइरहेका दुई बालिका पोखरामा फेला
Friday, September 30th, 2022, 2:07 pm
Kalpristha
असोज ४ गते घरबाटै हराइरहेका बाँकेका दुई बालिका पोखराको लुम्लेस्थित एक होटलमा फेला परेका छन् ।
जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम बैरियाका १३ वर्षीया बन्दना बिक र ११ निशा परियार सम्पर्कबिहिन भएका थिए । त्यसपछि खोजी गर्ने क्रममा फेला नपरेपछि परिवारजन चिन्तित थिए ।
इलाका प्रहरी कार्यालय कुसुमका निमित्त इन्चार्ज प्रहरी सहायक निरीक्षक टेकबहादुर केसीका अनुसार बन्दनाकी आमाले खोजी गरिदिन निवेदन दिएकी थिइन् ।
बन्दनाका बुबा र कान्छी आमा झन्डै ८ महिना पहिले लुम्लेको एक होटेलमा काम गर्न जाँदा बन्दनालाई समेत लिएर गएका थिए । कतै फेला नपरेपछि प्रहरीले आफन्तलाई त्यहीँ जान सुझाएको थियो ।
आफन्त लुम्मेपुगेपछि उनीहरूलाई त्यहीँ फेला पारेर घर ल्याएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले सेतोपाटीलाई बताए ।
‘तीन दिन अगाडि नै ती बालिकालाई फेला पारि आफन्तले घर फिर्ता ल्याइसके,’ डिएसपी मल्लले भने, ‘उनीहरु ट्रक चढेर चितवनसम्म र त्यहाँबाट बस चढेर लुम्ले पुगेका रहेछन् ।’
असोज ४ गते बेलुका निशाले बन्दनालाई आफ्नो घरमा खाना खान बोलाएकी थिइन्। उनीहरुले खानासमेत नखाइ घर छोडेर गएका थिए ।
निशाका मावली हजुरबुवा भिमबहादुर दमाईका अनुसार उक्त दिन उनी दाङको दंगीशरण गाउँपालिका वडा नं. १ गोल्टाकुरी काम विशेषले आएका थिए । असोज ५ गते बेलुका घरमा फर्कँदा नातिनीलाई नदेखेपछि खोजी सुरू गरेका थिए।
निशा स्थानीय कुसुमेश्वर माध्यमिक विद्यालयको कक्षा ४ र बन्दना कक्षा ३ मा अध्यनरत थिए । त्यसदिन निशाले घरमा आफू एक्लै रहेको भन्दै बन्दनालाई आफ्नो घरमा खाना खान र सुत्न भनेर बोलाएकी थिइन् ।
प्रहरी स्रोतका अनुसार ती दुबै बालिकाका आमाहरु दोस्रो बिहे गरी अन्यत्र गइसकेका छन् । उनीहरू दुबैका बुवा रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका छन् । निशा मावली हजुरबुवासँग र बन्दना कान्छी आमासँग बस्दै आएकी थिइन् ।