बहादुरपुरमा बागेश्वरी माता मन्दिरको उद्घाटन
Friday, September 30th, 2022, 6:07 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, १४ असोज
खजुरा गाउँपालिका वडा नम्बर १ बहादुरपुरमा पुनःनिर्माण गरिएको बागेश्वरी माता मन्दिरको उद्घाटन गरिएको छ ।
खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफान, लुम्बिनी प्रदेश सभाका पुर्व सदस्य बाबुराम गौतम, खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले संयुक्त रुपमा मन्दिरको उद्घाटन गरेका थिए ।
कार्यक्रममा खजुरा गाउँपालिका वडा नम्बर १ अध्यक्ष मनवीर क्षेत्री, मन्दिर निर्माणका लागि जग्गा दान गर्ने मीन कुमारी थापा, मन्दिर व्यवस्थापन समिति अध्यक्ष अमृता बोहरा, मन्दिर निर्माण उपभोक्ता समिति संयोजक मीन बहादुर थापा उपस्थिती रहेको थियो ।
खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफानले आफनो संस्कृति संरक्षमा १ नम्बर वडावासीले निकै मिहिनेत गरेको बताए । धर्म, संस्कृतिको रक्षा गर्दै मन्दिर परिसरमा स्थानीय रुपमा हाट बजार लाग्ने थलोको रुपमा विकास गर्ने सम्भावना रहेको बताए । मन्दिर परिसरको थप भौतिक पुर्वाधार निर्माणमा गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष विकले बताए ।
गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले मन्दिर निर्माणमा एक जुट भएर सहकार्य गर्ने सम्पुर्ण वडावासीलाई धन्यवाद दिईन । उनले भनिन,‘मन्दिरले हाम्रो धर्म र संस्कृतिलाई संरक्षण गर्न सहयोग गर्छ । राधापुरवासीले मन्दिर निर्माण गरेर आफनो धर्म प्रतिको लगाव र आस्थालाई प्रकट गर्नु भएको छ । यसका लागि म सम्पुर्णलाई धन्यवाद दिन्छु ।’
गत वर्षदेखी पुरानो मन्दिरको स्थानमा नयाँ मन्दिर बनाउन स्थानीयबासिहरुले सुरुआत गरेका थिए । करिब २५ लाख रुपैयाँ लागतमा उक्त मन्दिर निर्माण गरिएको १ नम्बर वडा अध्यक्ष मनवीर क्षेत्रीले बताए ।
स्थानीयवासिन्दाहरुको सक्रिय सहयोगले मन्दिर निर्माण गर्ने गाउँलेहरुको योजना सफल भएको मन्दिर निर्माण उपभोक्ता समितिका संयोजक मीन बहादुर थापाले बताए । मन्दिर निर्माणमा खजुरा गाउँपालिका वडा नम्बर १ ले २ लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । यसैगरी मन्दिरसम्म जाने बाटो निर्माणका लागि १ लाख रुपैयाँ बजेट छुटयाएको वडा अध्यक्ष क्षेत्रीले कालपृष्ठ दैनिकलाई बताए ।
वडा अध्यक्ष क्षेत्रीले मन्दिर निर्माणमा सहयोग गर्ने गाउँवासी, बाँके जिल्लामा रहेका विभिन्न संघ, संस्था, विदेशमा रहनु भएका नेपालीहरुलाई धन्यवाद दिएका थिए ।