पुर्व कप्तान क्षेत्री राखेप सदस्यमा नियुक्त
Saturday, October 1st, 2022, 11:34 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ असोज
नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान लेख बहादुर क्षेत्री (एलबी) राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यमा नियुक्त भएका छन् ।
मन्त्रीपरिषद्को मंगलबारको बैठकले पूर्व कप्तान क्षेत्रीलाई राखेपको बोर्ड सदस्य नियुक्त गरेको हो । सरकारले क्षेत्रीलाई राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ३ को उपदफा ९२० बमोजिम राखेप बोर्ड सदस्य नियुक्त गरेको हो ।
सदस्यमा नियुक्त भएपछि क्षेत्रीले नेपाली सरकारले दिएको निम्मेवारी पुर्ण गर्न मिहिनेत गर्ने बताए । उनले भने, ‘मलाई सरकारलाई महत्वपुर्ण जिम्मेवारी दिएको छ । त्यसका लागि म नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु । खेलकुदमा थुपै्र समस्या र अभाव छ । यही बिचमा हामीले विगतमा क्रिकेटमा थुप्रै सफलता हासिल गरेका थियौं । अब त्यही पुरानैं अनुभव र नयाँ योजनाका साथ नेपाली खेलकुदको विकासमा सबैसँग सहकार्य गरेर योगदान गर्नेछु ।’
खेलकुद ऐनको दफा ३ को उपदफा टमा खेलकुदको विकासमा महत्वपुर्ण योगदान गरेका प्रतिष्ठित व्यक्ति, राष्ट्रिय तथा अन्तराष्ट्रिय पूर्व खेलाडीमध्य सबै प्रदेशबाट प्रतिनिधित्व हुने गरी महिला, दलित, आदिवासी जनजाती, खसआर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रको समेतबाट प्रतिनिधित्व हुने गरी नेपाल सरकारले मनोनयन गरेको कम्तीमा तीन जना महिला सहित नौं जना बोर्ड सदस्य मनोनित गर्न मिल्ने प्रावधान छ ।
तर यस खण्ड बमोजिम मनोनयन गर्दा कम्तीमा पचास प्रतिशत सदस्य राष्ट्रिय तथा अन्तराष्ट्रिय पूर्व खेलाडीमध्यमबाट गर्नुपर्ने उल्लेख छ । यस दफा अनुसार पूर्व राष्ट्रिय फुटबल खेलाडी हरी खड्का समेत नियुक्त भएका थिए ।
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा दोषी ठहर भएपछि खड्का बोर्ड सदस्यबाट मुक्त भएका थिए । सरकारले सोही रिक्त स्थानमा क्षेत्रीलाई नियुक्त गरेको हो ।
बाँके कोहलपुर स्थायी घर भएका क्षेत्री राष्ट्रिय क्रिकेट टिमको पूर्व कप्तान हुन् । उनलाई नेपालको क्रिकेटको ‘गडफादर’ मानिन्छ । उनैको पहलमा नेपालमा पहिलो क्रिकेटको सुरुवात भएको थियो ।