बिजुली बसको अफिसियल यान्त्रिक परीक्षण सफल
Wednesday, November 2nd, 2022, 6:50 pm
Kalpristha
लुम्बिनी विकास कोषद्वारा दशैंको अवसर पारेर सञ्चालित ‘धम्मयात्रा’ नामक बिजुली बसको अफिसियल यान्त्रिक परीक्षण सफल भएको छ ।
एसियाली विकास बैङ्कले लुम्बिनीलाई प्रदूषणमुक्त बनाउने उद्देश्यसाथ पाँच वटा बस र १४ वटा भ्यान कोषलाई प्रदान गरेको छ ।
दशैं तिहार र छठ पर्वसम्म सञ्चालन गरिएको यान्त्रिक परीक्षण सफल भएको लुम्बिनी विकास कोषका बोर्ड सदस्य तथा परीक्षण इकाई समितिका संयोजक विश्व पौडेलले जानकारी दिए । उनका अनुसार असोज १३ देखि कात्तिक १३ गतेसम्म बौद्ध परिपथका क्षेत्रबाट २० हजार २३६ जना यात्रुले नि:शुल्क धम्मयात्रा नामक बिजुली बसको सेवा लिए ।
६ वटा रुटमा पाँच वटा बसमार्फत ५२७ ट्रिप बस सञ्चालन हुँदा १६ हजार ३ सय ८४ किलोमिटर दूरी यात्रा गरेको कोषले जनाएको छ । यान्त्रिक परीक्षण इकाई समितिका अनुसार सबैभन्दा बढी लुम्बिनी बेलहिया रुटमा १६० ट्रिप बस चल्दा पाँच हजार ७ सय ८३ जना यात्रुले नि:शुल्क बिजुली बसको सेवा लिए ।
लुम्बिनी तिलौराकोट रुटमा १३१ ट्रिप बस चल्दा पाँच हजार ७२, लुम्बिनी रामग्राम रुटमा ४८ ट्रिप बस चल्दा दुई हजार २७०, लुम्बिनी बुटवलमा ४६ ट्रिप बस चल्दा एक हजार तीन सय ४६ जनाले सेवा लिएको संयोजक पौडेलले बताए ।
त्यसैगरी लुम्बिनी देवदह रुटमा ५६ ट्रिप हुँदा दुई हजार ८१४ जना र लुम्बिनी वरपर र रामापुरसम्म ६८ ट्रिप बस चल्दा दुई हजार ५७३ जनाले धम्मयात्राको सेवा लिएको कोषले जनाएको छ । लुम्बिनीमा सञ्चालित सटल बस शुरुको चरणमा पाँच दिन मात्रै सञ्चालन भएको थियो । सुरुमा यान्त्रिक परीक्षण १५ दिन सञ्चालन गर्ने भनिए पनि कोषको सचिवालय बैठकले १५ दिन थपगरी छठसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो ।
बसको यान्त्रिक अवस्था, चार्जिङजस्ता प्राविधिक पक्षको परीक्षण गर्दा सफल देखिएको कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए । कोषले बसलाई व्यावसायिक रूपमा सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा गरेर सञ्चालनमा ल्याइने बताउनुभयो । एक महिनासम्म यान्त्रिक परीक्षण गर्दा प्राविधिक रूपमा बस तयार भएको निष्कर्ष निकालिएको छ ।
बस सञ्चालनका लागि आवश्यक विधि र बसलाई हरियो नम्बर प्लेटमा ल्याउने काम प्रक्रियामा रहेकाले छिट्टै सञ्चालन गरिने कोषाध्यक्ष भट्टराईले बताए ।
कोषले बिजुली बसको यान्त्रिक परीक्षणका लागि बोर्ड सदस्य पौडेलको संयोजकत्वमा धर्मेन्द्र पाल र जावेद खान सदस्य रहेको तीन सदस्यीय बिजुली बस सञ्चालन परीक्षण इकाई समिति गठन गरेको थियो ।