डोल्पाका जनप्रतिनिधिलाई आयोगले सोध्यो स्पष्टीकरण
Tuesday, November 8th, 2022, 7:32 pm
Kalpristha
डोल्पा : निर्वाचन आचारसंहिता विपरीत चुनाव प्रचारप्रसारमा संलग्न रहेको गुनासो बढेपछि जिल्लाका स्थानीय तहका बहालवाला जनप्रतिनिधिलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ ।
जिल्लाका दुई नगरपालिका र दुई गाउँपालिकाका प्रमुख उपप्रमुख लगायत वडाअध्यक्ष र सदस्यहरु खुले आमरुपमा आफ्नो आस्था रहेको पार्टीका उम्मेदवारको पक्षमा मतमाग्न थालेको गुनासो आयोगमा आएपछि स्पष्टिकरण सोधिएको जिल्ला मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश बाबुराम सुवेदीले बताए ।
त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकाया उपप्रमुख देवी घर्ति ठूलीभेरी नगरपालिकाका प्रमुख सुवर्णबहादुर बुढा उपप्रमुख डोल्मा छिरिंग महत जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिंङ रोकाया मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाही लगायतका स्थानीयतहका वडाअध्यक्ष सदस्यहरुले समेत आचारसंहिता विपरीत कार्य गरेको गुनासो आएपछि पहिलोपटक स्वष्टिकरण सोधेको आयोगले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले स्थानीय तहमा बहालवाला कुनै पनि पदाधिकारीले दलगत स्वार्थमा लागेर चुनाव प्रचार–प्रसार गरेमा आचार संहिता विपरीत हुने र त्यस्तो कार्यमा संलग्न रहेको पाइएमा वा उजुरी परेमा पदमुक्त हुने सम्मको कारवाही हुने बताए ।
डोल्पामा शुरुमा निर्वाचन आचारसंहिता कानून थाहा नापाएर भूलवश प्रचारमा लागेको गुनासो मात्र आएको र लिखत नआएकाले पहिलो पटक सामान्य सोधपुछ गरी आचारसंहिताको पुर्ण पालना गर्न निर्देश गरिएको आयोगले जनाएको छ ।
बदर मतको दर घटाउन मतदाता शिक्षा संचालन हुने
आगामी मंङसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा बदरमतको दर घटाउन मतादाता शिक्षा कार्यक्रम संचालन संचालन गरिने भएको छ ।
प्रमुख जिल्ला अधिकारी तथा मतदाता शिक्षा जिल्ला स्तरीय समितिका संयोजक बेदनिधि अधिकारीको संयोजकत्वमा बसेको बैठकले जिल्लाका ८वटै स्थानीय तहमा मतदाता शिक्षा संचालन गर्ने निर्णय गरेको हो ।
जिल्लाका ६ वटा गाउँपालिकाबाट एक ÷एक जना र दुई नगरपालिकाबाट दुई दुई जना गरी दश जनालाई मंगलवारवाट स्थानीय तह निर्वाचन सम्पर्क व्यक्तिको रुपमा नियुक्ति गरी एक दिने मतदाता शिक्षा तालिम दिएको छ ।
जिल्ला निर्वाचन कार्यालय डोल्पाका निर्वाचन अधिकृत राम बहादुर सार्कीका अनुसार स्थानीय तह निर्वाचन सम्पर्क व्यक्तिले प्रत्यक वडामा मतदाता शिक्षा समिति गठन गरि विभिन्न सयन्त्रमार्फत मतदाता शिक्षा दिने छन ।
मतदान गर्ने व्यक्तिलाई मतपत्रमा कसरी छाप लगाउने,कुन मत कुन ठाउँमा खसाल्ने,मतपत्रका प्रकार मतखसाल्ने समय लगायतका बारेमा मतदाताहरुलाई शिक्षा दिइने छ । शैद्दान्तिक लगायत पोष्टर पम्पलेटद्धारा पनि मतदाता शिक्षा दिइने निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा ६६ वटा स्थाई र २ वटा अस्थाई गरेर ६८ वटा मतदान केन्द्रहरु रहेका छन । जिल्लाको मतदाता संख्या २२ हजार ७ सय ७४ रहेको छ ।
जिल्ला निर्वाचन अधिकृत रामबहादुर सार्कीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि आवश्यक पर्ने मतपत्र, स्टेम प्याड, स्वास्तिक छाप, म्याड, लगायत छेकाबारा, जस्ता निर्बाचनका लागि आवश्यक पर्ने सवै निर्वाचन सामाग्रीहरु जिल्लामा पुगिसकेको बताए ।