युवालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनु पर्छः अकल बहादुर बम
Wednesday, November 9th, 2022, 9:28 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २२ कात्तिक
आसन्न प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका अकल बहादुर बमले नगरमा युवाहरुको लागि रोजगारीको सृजना गर्ने मुख्य एजेन्डाको रुपमा रहेको बताएका छन् । राजनिति रुपमा युवाहरु आत्मनिर्भर हुनका लागि आर्थिक रुपमा आत्मनिर्भर हुनु पर्ने उनले बताए । तत्कालिन मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रहेका बम बाँके क्षेत्र नम्बर २ बाट प्रदेश सभाका उम्मेदवार हुन् । उनले बाँके क्षेत्र नम्बर २(ख)बाट माओवादी केन्द्रबाट लुम्बिनी प्रदेश सभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन् ।
मंगलबार नेपालगन्ज नगरमा घरदैलोका क्रममा उम्मेदवार बमले आफनो घोषणा पत्रमा नगरको भौतिक पुर्वाधारको स्तर उन्नतीको साथैं युवाहरुलाई मुख्य रुपमा रोजगारसँग जोड्ने आफनो प्रतिवद्धता पत्रमा उल्लेख गरेको बताएका छन् ।
युवा व्यवसायी बमले नेपालगन्ज नगरलाई साविकको कर्णालीसँग जोडेर आर्थिक उन्नतीको बाटोमा लग्ने सकिने बताए । उनले भने,‘नेपालगन्ज नगर नेपालको ऐतहासिक नगर हो । शिक्षा, स्वास्थ्य, संस्कृति र पुर्वाधारका हिसाबले हामी अन्य भन्दा अगाडी छौं । तर यहाँ अझै थुप्रै समस्या छन् । जनताको आर्थिक स्तर माथि उकास्नु पनि यहाँको मुख्य चुनौति हो । नेपालगन्ज व्यापारिक केन्द्र हो । यहाँको विकाससँग युवालाई जोडन सक्नु पर्छ । कर्णालीको उत्पादनलाई सहज रुपमा यहाँ ल्याएर बिक्री गर्ने वातावरणको विकास गर्नु पर्छ । यहाँका नागरिकले कर्णालीमा गएर लगानी गर्ने वातावरणको सृजना गर्नु पर्छ ।’
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्ष हुँदा बमले खेलकुदका क्षेत्रमा थुप्रै सुधार गरेका थिए । खेलकुद क्षेत्रले नेपालगन्जको पहिचानलाई बढाउने वातावरण निर्माण गर्ने कुराहरुलाई आफुले प्राथमिकतामा राखेको उनले बताए ।