आर्थिक बृद्धिदर बढाउँदै भेरी अस्पताल
Wednesday, December 21st, 2022, 11:26 am
Kalpristha
भेरी अस्पताल नेपालगन्जको लेखा शाखाका अनुसार २०७९ साउन १ देखि कात्तिक ३० गते सम्मको आर्थिक विवरणमा उक्त रकम विभिन्न शिर्षकबाट अस्पतालले आम्दानी गरेको हो । जुन गत आर्थिक वर्षको यही चार महिनाको तुलनामा करिब १५ प्रतिसतले बृद्धि भएको देखिन्छ ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ पुष
साविक मध्य र सुदुरपश्चिमको ठुलो सरकारी अस्पताल भेरी अस्पताल नेपालगन्जले भौतिक पुर्वाधारसँगै आर्थिक रुपमा सफलता हासिल गर्दै आएको छ । अस्पतालले पछिल्लो समय आर्थिक बृद्धिदर पनि बढाउँदै गएको तथ्याङले देखाएको छ ।
हरेक दिन अस्पतालले विभिन्न सेवा दिएवापत शुल्क उठाउने गरेको छ । जसले अस्पताल संचालन र अस्पतालको सेवा वृद्धिमा सहयोग गर्दै आएको छ । भेरी अस्पताल नेपालगन्जले पछिल्लो चार महिनामा ७ करोड १० लाख ७ हजार ५ सय ३५ रुपैयाँ आर्थिक संकलन गरेको छ ।
भेरी अस्पताल नेपालगन्जको लेखा शाखाका अनुसार २०७९ साउन १ देखि कात्तिक ३० गते सम्मको आर्थिक विवरणमा उक्त रकम विभिन्न शिर्षकबाट अस्पतालले संकलन गरेको हो । जुन गत आर्थिक वर्षको यही चार महिनाको तुलनामा करिब १५ प्रतिसतले बृद्धि भएको देखिन्छ ।
व्यवस्थापन बलियो बनाउँदै विभिन्न सेवा थपिदैं गएपछि अस्पतालले आम्दानी गर्ने रकम पनि बृद्धि हुँदै गएको बताउँछन् भेरी अस्पताल नेपालगन्जका लेखापाल नबिन कुमार पाण्डे । अस्पतालले आम्दानी गर्ने गरेको रकम कर्मचारीको तलब, व्यवस्थापन र अन्य सेवा–सुविधा र अस्पतालको स्तर उन्नतीमा खर्च गर्ने गरिएको पाण्डेले कालपृष्ठ दैनिकलाई बताए । उनले भने,‘अस्पतालले विगतको भन्दा हरेक पक्षमा राम्रो गर्ने प्रयास गरिरहेको छ । व्यवस्थापन चुस्त भएकोले पनि राजस्व संकलनमा बृद्धि भएको हो । यसले अस्पताललाई आगामी दिनमा थप सेवा बृद्धिमा सहयोग गर्नेछ ।’
भेरी अस्पतालले सबैभन्दा धेरै राजस्व संकलन गर्नेमा ल्याब सेवा प्रमुखमा आउँछ । हरेक दिन आउने बिरामीको प्रशिक्षण गरेवापत अस्पतालले नेपाल सरकारले बनाएको नियम अनुसार शुल्क लिने गरेको छ । अस्पतालले क्याथ ल्याब, भिडियो एक्सरे, सिटी स्क्यान, अप्रेशन, नामदर्ता पर्चा, आस्कमिक सेवा, फार्मेसी जस्ता शिर्षकबाट धेरै राजस्व संकलन गर्ने गरेको छ । अस्पतालको लेखा शाखाका अनुसार सिद्धार्थ बैंक र कृषि विकास बैंकमा गरी ६ करोड रुपैयाँ मुद्धती खातामा रहेको छ ।
सिद्धार्थ बैंकमा भेरी अस्पतालको नाममा ५ करोड ५० लाख र कृषि विकास बैंकको नाममा ५० लाख रुपैयाँ रकम मुद्धती खातामा रहेको छ । जसबाट बैंकले करिब ७.७ प्रतिसतका दरले ब्याज पाउने गरेको छ । भेरी अस्पताल नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत पर्दछ । भेरी अस्पतालले नेपाल सरकारको दरबन्दी र अस्पताल विकास समितिले आवश्यकता अनुसार भर्ना गरेका कर्मचारीबाट अस्पतालमा सेवा उपलब्ध गराउने गरेका छ । सेवा सुविधा बढदै गएपछि पछिल्लो समय भेरी अस्पतालमा आउने बिरामीको संख्या पनि बढदै गएको छ । भेरी अस्पताल नेपालगन्जले मेडिकल सुपरिन्टेण्डेण्टको नेतृत्वमा मेड्रिसिन समुह, डर्माटोलोजी समुह, इनटी, सर्जरी समुह, पिडियाट्रिक, स्त्री रोग विभाग, ड्रायग्नोष्टिक समुह, नर्सिङ समुह मार्फत बिरामीलाई सेवा प्रदान गर्दै आएको छ ।