तिन पुस्ताको लगाव जोडिएको प्रदिप मासु सेन्टर
Wednesday, December 21st, 2022, 6:34 pm
Kalpristha
४० वर्ष अघि एउटा सानो घुम्तीबाट मासु पसलको सुरुआत भएको थियो । अहिले करिब ५ करोड लगानी भैसकेको छ यो पसलमा । प्रदिप मासु प्याकेजिङ सेन्टरसँगै नेपालगन्ज एग्रो फ्रोजन फुड प्रालि मार्फत ‘मिट मार्ट’ व्यवसायको रुपमा थपिएको छ ।
लक्ष्मी तिमिल्सेना
नेपालगन्जमा थोरै मात्र व्यापारीहरु छन जसको सिको उनका सन्नतीले गरे । आफनो बाउँबाजेले सुरु गरेको व्यापारमा नयाँ पुस्ताका युवाहरुको त्यति धेरै रुची देखिदैन । तर नेपालगन्ज धम्बोझी स्थित खजुरा रोडमा रहेको प्रदिप मासु प्याकेजिङ सेन्टर भने तिन पुस्ताको लगाब जोडिएको छ । खजुरा रोडमा रहेको प्रदिप मासु सेन्टर हेर्र्दै सफा देखिन्छ ।
आधुनिक शैलीमा नेपालगन्जमा मासु व्यवसायलाई बढाउँदै गरेको प्रदिप मासु सेन्टरको इतिहास लामो छ । ४० वर्ष अघि एउटा सानो घुम्तीबाट मासु पसलको सुरुआत भएको थियो । अहिले करिब ५ करोड लगानी भैसकेको छ यो पसलमा । प्रदिप मासु प्याकेजिङ सेन्टरसँगै नेपालगन्ज एग्रो फ्रोजन फुड प्रालि मार्फत ‘मिट मार्ट’ व्यवसायको रुपमा थपिएको छ ।
जहाँबाट काठमाडौंमा मासु निर्यात देखि लिएर खसी, कुखुरा, बंगुरको मासु बिक्री वितरण गर्ने गरिएको छ । नेपालगन्जमा धेरैले प्रदिप मासु सेन्टर भनेर चिन्ने गरेका छन् । प्रदिप मासु सेन्टर ४० बर्ष अघि स्वर्गिय मथुरा सोनकरले सानो घुम्तिबाट बंगुरको मासु बिक्री गर्दै सुरु गरेका थिए । मथुरा सोनकरसंगै उनका छोरा स्वर्गिय लल्लन प्रसाद सोनकरले आफ्ना बाबुको व्यवसायलाई विस्तार गर्दै लगे । उनका पाँच मध्ये तीन छोराले यो व्यवसायलाई हाकिरहेका छन् ।
अहिले मथुरा सोनकरका नाति प्रदिप सोनकरका तीन दाजुभाईले बाबु–बाजेको बिरासतलाई थप विस्तार गर्दै आधुनिक प्रविधि मैत्री र व्यवस्थित रुपमा अगाडी बढाएका छन् ।
२५ बर्षिय प्रदिप र उनका दुई दाजुभाई राधेश्याम र घनश्याम गरि तीन जनाले सो व्यवसाय सन्चालन गरिरहेका छन् । व्यवस्थापन, आयात र निर्यात गरि तीन जना दाजुभाईले काम बाँडेका छन् । सानो घुम्तिबाट सुरु गरेको सोनकर परिवारको व्यवसाय अहिले आफ्नै भवनमा छ । जहाँ कुखुरा, खसी र बंगुरको मासु पाईन्छ । खसी, कुखुरा र बंगुर काटेर बेच्ने स्थान नै फरक राखेको सन्चालक प्रदिप बताउँछन् ।
उनी भन्छन,‘कुखुरा खाने सबैले बंगुर नखान सक्छन्, खसी खाने सबैले कुखुरा नखान पनि सक्छन् । त्यसैले सबै एकै ठाँउमा नहोस भनेर हामीले मासु काट्न अलग–अलग अचानो र हतियार प्रयोग गर्छौं । बगुर र खसी–कुखुराको मासु बेच्ने काउन्टर पनि अलग–अलग छ ।’
मार्टले कुखुरा, खसी र बंगुरको मासु तथा अमुल ब्राण्डका बटर, चीज, पनीर, प्राउन, लगाएत विभिन्न फ्रोजन् आइटमहरु उपलब्ध गराउने प्रदिपले बताए । मार्टले काठमाडौंमा आफ्ना उत्पादनहरु निर्यात गर्दै आएको छ । नेपालगन्ज र काठमाडौलाई मुख्य बजार बनाएको मार्टले बर्दिया, टिकापुर, सुर्खेत र दाङ्गबाट खसीबोका, कुखुरा र बंगुर ल्याउने गरेको छ । उनीहरुको ५० प्रतिसत मासु नेपालगन्जमै खपत हुने गरेको छ ।
व्यवसाय बढाउन मात्रै नभई उपभोक्ताहरुलाई स्वच्छ मासु दिनको लागि पनि आफुहरुले सानो व्यवसायलाई व्यवस्थित र प्रविधिमैत्री बनाउँदै लगेको प्रदिप मासु सेन्टरका व्यवस्थापक प्रदिप सोनकरले बताए । प्रदिपका अनुसार पसलमा ४ करोड त प्रविधिमा मात्रै खर्च भएको छ । सोहि मार्टमा सोनकर परिवारले सानो रेष्टुरेन्ट मार्फत बंगुर विषेश परिकारहरु समेत बिक्रि गर्दै आईरहेको छ । काठमाडौमा तीन जना र नेपालगन्जमा १७ जना गरी २० जनालाई उनीहरुले रोजगार दिएका छन् । सोनकर परिवारले सो व्यवसायलाई अंझ परिस्किृत गर्दै लैजाने सोच बनाएको छ । आफुहरुले दिने सेवामा बढैयातालको माछा र ‘स्ट्रिड फुड’ समेत आगामी दिनमा थप्ने प्रदिपले योजना रहेको बताए ।
युवा व्यवसायीलाई प्रोत्साहन भएन युवा व्यवसायीलाई सरकारले प्रोत्साहन गर्नुपर्ने प्रदिपको तर्क छ । तर, सरकारले जहिलेपनि चिनजान र पहुंचका भरमा अनुदानको रकम जथाभावि बाँड्ने गरेकाले काम गर्ने युवा जहिलेपनि सरकारको सहुलियत र अनुदानको कार्यक्रमहरुबाट बन्चित हुने गरेको उनको गुनासो छ । प्रदिप भन्छन, ‘केहि समय पहिले प्रदेश सरकारको ५० लाखको अनुदान पाएको एउटा मिटमार्टले अहिले मासु बेच्दैन । त्यहि रकम हामी जस्ता पुराना व्यवसायीहरुलाई दिएको भए । व्यवसाय विस्तार गर्न कति सहज हुन्थ्यो । मलाई नै दिनु पर्छ भन्ने होईन । कमसेकम सरकारको पैसा खेर नजाओस भन्ने हो ।’ उनले अगाडी भने, ‘सरकारको त्यो पैसा न उत्पादनशिल काममा लाग्यो, न त त्यो व्यवसाय नै टिक्यो । त्यो त वालुवामा पानी खनाए जस्तै भयो । त्यै भएर सरकारले लगानी गर्दा खोजेर अध्ययन गरेर युवाहरुको व्यवसायमा लगानी गर्नुपर्छ ।’
अर्को सन्र्दभमा कुरा गर्दै प्रदिपले हरेक व्यवसायीलाई ‘व्याकअप सपोर्ट’ चाहिने बताए । उनले युवा व्यवसायीलाई सरकारले नेपालमा पनि भविष्य छ भनेर विश्वास दिलाउन नसकेकै कारण युवाहरु देशमै केहि व्यवसायमा नलागी नगरी विदेश जाने गरेको दाबी गरे । ‘पछिल्लो युवा जमात शिक्षित छ । उ संग थुप्रै व्यवसायीक उपाय छन् । तर, लगानी खै ? त्यो त सरकारले गर्न सक्नु प¥यो नि । बैंकले व्यवसायी मैत्री नीति ल्याउनु प¥यो । नत्र त उसले पनि त आफ्नो भविष्य हेर्छ । अनि विदेशिनुको विकल्प छैन ।’