स्थापना दिवसको अवसरमा प्याब्सन बाँकेले बिज्ञान प्रर्दशनी गर्दै
Thursday, December 22nd, 2022, 4:01 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ७ पुष
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन) बाँकेले स्थापनाको ३२औं वर्षको अवसरमा विविध कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ । जस अन्तर्गत बाँकेमा पहिलो पटक प्याब्सन बाँकेले विज्ञान प्रदर्शनी (साइन्स एक्जुभिसन) गर्ने तयारी गरेको छ ।

………
आगामी पुष २४ गते प्याब्सन बाँकेले आफनो स्थापना दिवस मनाउने तयारी गरेको छ । स्थापना दिवसलाई भव्य बनाउने क्रममा बृहत बिज्ञान प्रदर्शनी प्रतियोगिता, रक्तदान, मन्टेश्वरी शिक्षकलाई तालिम, उत्कृष्ट शिक्षकलाई सम्मान र आ–आफनो स्थानीय तहमा सरसफाई लगायतका कार्यक्रम आयोजना गर्ने तयारी भैरहेको प्याब्सन बाँकेका अध्यक्ष यम रावतले बताए ।
उनले भने,‘हामीले हरेक वर्ष झै शिक्षा क्षेत्रको विकासका लागि विविध कार्यक्रम गर्ने योजना बनाएका छौं । आफनो कार्यक्षेत्रमा उत्कृष्ट काम गर्ने शिक्षकदेखि लिएर सामाजिक सेवाको भावनाले रक्तदान कार्यक्रम र आ–आफनो विद्यालयको अगाडी सरसफाई कार्यक्रम गर्ने यसपटक तयारी भएको छ ।’

……….
शिक्षक, विद्यार्थीको मनोबल र क्षमता अभिवृद्धि गर्ने र सामाजिक कार्यहरुमा रुची जगाउने कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर काम गरिरहेको रावतले बताए । प्याब्सनको बाँके शाखासँग १ सय २४ विद्यालयहरु आवद्ध छन् । ति विद्यालयहरुबाट उत्कृष्ट एक जना शिक्षकलाई स्थापना दिवसको अवसरमा सम्मान गरिनेछ ।
स्थापना दिवसकै दिन प्याब्सन बाँकेले पहिलो पटक मावि स्तरीय बिज्ञान प्रदर्शनीको आयोजना गर्नेछ । राझाँ स्थित प्याब्सन शिक्षा मन्दिरमा आयोजना हुने प्रतियोगिताको विजेताले ७ हजार उपविजेताले ५ हजार र तेस्रोले ३ हजार पुरस्कार पाउनेछन् । प्याब्सनसँग आवद्ध विद्यालयहरुले यस प्रतियोगितामा भाग लिनेछन् । एउटा विद्यालयले एउटामात्र विधामा भाग लिन सक्ने नियम बनाएको प्याब्सन बाँकेका अध्यक्ष रावतले बताए । यसैगरी पुष २४ गते नै बृहत रक्तदान गरिनेछ । रक्तदानमा करिब ३ सय जनाको सहभागिता गराउने लक्ष्य लिएको अध्यक्ष रावतले कालपृष्ठ दैनिकलाई बताए । त्यसअघि पुषको २३ गते प्याब्सन बाँकेसँग आवद्ध विद्यालयहरुले आ–आफनो स्थानीय तहमा सरसफाई कार्यक्रमको आयोजना गर्नेछन् । पुषको १४, १५ र १६ गते तिन दिने मन्टेश्वरी तर्फका १ सय जना शिक्षकलाई प्रशिक्षण दिने कार्यक्रम रहेको प्याब्सन बाँकेले जनाएको छ ।