नेपालगन्जको १२ नम्बर वडामा साप्ताहिक चिकित्सक सेवा सुरु
Friday, December 23rd, 2022, 5:01 pm Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ८ पुष
नेपालगन्जको १२ नम्बर वडा स्थित नेपालगन्ज स्वास्थ्य चौकीमा शुक्रबारदेखि साप्ताहिक चिकित्सक सेवाको शुभारम्भ भएको छ । गरिब, विपन्न र आर्थिक अवस्था कमजोर भएका जनताहरुलाई लक्षित गरेर नेपालगन्ज उप–महानगरपालिकाको वडा नम्बर १२ ले साप्ताहिक रुपमा चिकित्सक सेवाको सुरु गरेको हो ।
प्रत्येक शुक्रबार फिजिसियन डा. सत्य कुमार शाही र स्वास्थ्य चौकी इन्जार्च आरती थारु सहितको टिमले स्वास्थ्य चौकीमा आउने बिरामीहरुको उपचार गर्दै निशुल्क औषधी उपलब्ध गराउनेछन् । शुक्रबार एक कार्यक्रममा बिच लुम्बिनी प्रदेशका वन मन्त्री एवम् ओलम्पियन सुरेन्द्र हमाल, पुर्व मन्त्री गजेन्द्र हमाल, नेपालगन्ज उप–महानगरपालिका प्रमुख प्रशान्त विष्ट, वडा नम्बर १२ का अध्यक्ष तरुण बज्राचार्य लगायतले संयुक्त रुपमा साप्ताहिक चिकित्सक सेवाको शुभारम्भ गरेका थिए । जनतालाई घर नजिकै स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यमा आफुहरु सधै सकारात्मक भएर सहयोग गर्ने पुर्व मन्त्री गजेन्द्र हमालले बताए ।
……….
अब हरेक शुक्रबार स्वास्थ्य चौकीमा चिकित्सक सेवासँगै ल्याब, भिडियो एक्सरे गर्ने योजना रहेको बताउँछन् नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष तरुण बज्राचार्य । उनले भने,‘नागरिकको स्वास्थ्यलाई मध्यनजर गरेर योजना कार्यक्रम सुरुआत गरेका हौं । हाम्रो वडामा आर्थिक अवस्था कमजोर भएका नागरिकहरु हुनुहुन्छ । उहाँहरुले सामान्य समस्या हुँदा पनि अस्पतालमा गएर उपचार गराउनु पर्छ । अब त्यस्तो समस्या जनतालाई नपरोस भनेर हामी चिकित्सक सेवा सुरुआत गरेका हौं ।’
गरिबीको रेखामुनी रहेका जनतालाई स्थानीय सरकार भएको अनुभुति दिलाउन निशुल्क रुपमा साप्ताहिक चिकित्सक सेवा सुरु गर्ने योजना बनाएको उनले बताए । सेवाको उद्घाटनको दिनमा उपस्थित भएका अतिथीहरु गजेन्द्र हमाल, सुरेन्द्र हमाल, उप–महानगरपालिका प्रमुख विष्ट लगायतले स्वास्थ्य परिक्षण गरेका थिए ।
नेपालगन्ज उप–महानगरपालिका प्रमुख विष्टले नगरपालिकाले १२ नम्बर वडाले सुरु गरेको साप्ताहिक चिकित्सक सेवाले स्थानीय जनतालाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने भएकोले सक्दो सहयोग गर्ने बताए । स्वास्थ्य चौकी इन्चार्ज आरती थारुले आफनै घरको नजिक चिकित्स सेवा पाएपछि स्थानीय जनतालाई स–साना समस्य लिएर अस्पताल जाने समस्या कम हुने बताईन । उनले भनिन,‘हामीले स्वास्थ्य चौकीमा उपलब्ध हुने सेवा निशुल्क रुपमा प्रदान गदै आएको छौं । तर अब चिकित्सक नै आएपछि थप सेवा उपलब्ध गराउन सक्छौं । जनतालाई सामान्य परिक्षणमा खर्च हुने रकम पनि बचत हुन्छ । यसले वडाका जनतालाई धेरै सजिलो हुन्छ ।’
यसैगरी कार्यक्रमका दौरान प्लाष्टिक सर्जन डा. बिनोद कर्णले १२ नम्बर वडामा जेष्ठ नागरिकको सम्मानका लागि पहिलो निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने घोषणा गरेका छन् ।