नगर प्रमुख आचार्यको घोषणा: मेयर कपको बजेट दोब्बरले वृद्धि, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार
Friday, December 23rd, 2022, 5:36 pm
Kalpristha
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ छैठौं नगर स्तरीय मेयर कप रनिङ शिल्ड प्रतियोगिता तथा पन्ध्रौं पालिका स्तरीय रास्ट्रपति रनिङ्गशिल्ड छनौट खेलकुद प्रतियोगिता आजदेखि कोहलपुरमा सुरु भएको छ । कोहलपुर नगरपालिकाको आयोजना तथा कृष्ण माबी कौशिलानगरको संचालन र व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो । नगर प्रमुख पुर्ण प्रसाद आचार्यको सभापतित्वमा भएको प्रतियोगिताको एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका संयोजक ज्ञानेन्द्र चौधरीले उद्घाटन गर्नु भएको हो ।

………..
नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धिबहादुर थापाको मन्तव्यबाट सुरु भएको प्रतियोगिता उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख आचार्यले सर्वोत्कृष्ट खेलाडीलाई ब्यक्तिगत रुपमा ५१ हजार दिने घोषणा गर्नु भएको छ । खेलकुदप्रति बिद्यार्थीहरुलाई प्रोत्साहन गर्न ब्यक्तिगतरुपमै भएपनि उहाँले ५१ हजार दिने घोषणा गर्नु भएको हो ।
मेयर कपलाई अझ भव्यता दिन आगामी बजेटलाई दोब्बर पारिने पनि उहाँले घोषणा गर्नु भयो । मेयरकप प्रतियोगितालाई भव्यता दिन र खेलाडीहरुको प्रोत्साहनका लागि आगामी वर्षदेखि बजेटलाई दोब्बर वृद्धि गरिने छ उहाँले भन्नुभयो-
यो पटकको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई म ब्यक्तिगत रुपमा ५१ हजार दिने घोषणा गर्दछु ।´ उहाँले खेलकुदका माध्यमबाट कोहलपुरलाई राष्ट्रसम्म चिनाउने गरि खेलाडीहरु उत्पादन गर्नतर्फ स्थानीय सरकारले पहल गर्ने बताउनु भयो । यस्तै जिल्ला समन्वय समितिका संयोजक ज्ञानेन्द्र चौधरीले यस्ता प्रतियोगिताले बिद्यार्थीहरुमा स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गर्ने बताउनुभयो ।
उहाँले खेलकुदका माध्यमबाट बालबालिकाहरुमा हुने अतिरिक्त प्रतिभाको उजागर हुने बिश्वास व्यक्त गर्नुभयो । प्रतियोगितामा कोहलपुरका सामुदायिक र संस्थागत ३७ बिधालायका १ हजार १ सयबढी सहभागी छ्न । प्रतियोगिता उद्घाटन समारोहमा कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगित सुवेदी, प्रशासकीय अधिकृत टीकाराम ढकाल, वडा अध्यक्षहरु, विभिन्न राजनीतिक दलका नेताहरु लगायतको सहभागिता रहेको थियो । प्रतियोगिता उद्घाटन समारोहमा विभिन्न बिधालयबाट मार्च पास तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो ।