युवा संघको महाधिवेशनले सिंगारिदै नेपालगन्ज
Saturday, April 8th, 2023, 5:39 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २५ चैत
राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनले नेपालगन्ज सहर सिंगारिदै गएको छ । नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघको यहि चैत २७ देखि २९ गतेसम्म नेपालगन्जमा हुने नवौं राष्ट्रिय महाधिवेशनको तयारी तथा प्रचार सामाग्रीले नेपालगन्ज सजिएको छ ।
कोहलपुर देखि कार्यक्रम स्थल नेपालगन्जको होटल स्नेहसम्म राष्ट्रिय युवा संघ नेपालको महाधिवेशन सम्बन्धि झण्डा र ब्यानर लगाईएको छ भने ठाउँ–ठाउँमा स्वागतद्वार बनाईएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनको उद्घाटन समारोहलाई भव्य बनाउन मञ्च व्यवस्थापन, आवास तथा खाद्य व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन लगायतका कामहरु धमाधम भईरहेको राष्ट्रिय युवा संघ नेपालका प्रवक्ता महाराज गुरुङले बताए ।

…………
महाधिवेशन सुरु हुन दुई दिन बाँकी रहँदै अधिकांश तयारी पूरा भईसकेको उनले जानकारी दिए । महाधिवेशनको उद्घाटन समारोहलाई भव्य र ऐतिहासिक बनाउने गरी मञ्च निर्माणको कार्य भईरहेको उनको भनाई छ ।
महाधिवेशन उद्घाटन समारोहमा नेकपा (एमाले) बाँकेसँगको समन्वयमा दश हजार बढि जनपरिचालन गरिने उनको भनाई रहेको छ । महाधिवेशन उद्घाटन समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा (बादल), महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवम् मोर्चा संगठन इन्चार्ज भानुभक्त ढकाल, पोलिटव्यूरो सदस्य महेश बस्नेत लगायतका नेताहरु सहभागि हुनेछन् ।
उद्घाटन समारोहमा कलाकार बद्रि पंगेनी,राजा राजेन्द्र, अस्मिता अधिकारी, रबि वड लगायतले सांगीतिक प्रस्तुती दिने कार्यक्रम तय भएको छ । महाधिवेशनको तयारीको लागि संघका केन्द्रीय अध्यक्ष किरण पौडेल, केन्द्रीय उपाध्यक्ष, महासचिव लगायत नेताहरु कार्यक्रम स्थल नेपालगन्जको होटल स्नेहमा खटिएका छन् ।
महाधिवेशनमा भाग लिन देशभरीका दुईहजार बढि प्रतिनिधि र अतिथिहरु नेपालगन्ज आउदै छन् । प्रतिनिधि तथा अतिथिहरुलाई नेपालगन्ज र कोहलपुरका होटलमा बासको व्यवस्था गरिएको महाधिवेशन आवास तथा खाद्य व्यवस्थापन समिति संयोजक रबिन्द्र लम्सालले जानकारी दिए ।