अवैध हातहतियारको खुलेआम प्रयोग बढ्दैं
Monday, May 15th, 2023, 11:24 am
Kalpristha
अवैध हातहतियारको खुलेआम प्रयोग हुनु र यसको ओसारपसार हुनुको मुख्य कारण खुला सिमाना नै भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक रामबहादुर घर्ति बताउँछन् ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३१ बैशाख
गत चैत २८ गते चक्रे मिलन भनिने मिलन गुरुङको सुरक्षामा हतियार सहित हिडेका गणेश बहादुर बोगटीलाई बाँके प्रहरीले पक्राउ गर्यो । केहि दिन अघि नेपालगन्जको एक होटलमा चक्रे मिलन सहितको एक समुह हतियार सहित सार्वजनिक रुपमा हिडेको भिडियो टिकटक मार्फत सार्वजनिक भएको थियो । प्रहरीका अनुसार पक्राउ परेका बोगटीले बोकेको हतियार ‘पोइन्ट टुटु’ बन्दुक थियो । उनी बाँकेकै बासिन्दा हुन् । नेकपा एमालेको जनवर्गीय संगठन युवा संघको महाधिवेशनमा भाग लिन दलबलसहित पुगेका चक्रे मिलन नेपालगन्ज आएका बेला सो हर्कत भएको थियो ।
यसरी गुन्डागर्दीमा संलग्नहरुले सार्वजनिक रुपमा ठुलो हतियार लिएर हिँड्दा जिल्लाको सुरक्षा व्यवस्थाबारे समेत प्रश्न उठेको थियो । यो विषय सेलाउन नपाउँदै बाँके प्रहरीले फेरी पेस्तोल सहित किङक्रस क्लबबाट तिन जना युवालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज सुर्खेत रोडमा रहेको किङक्रस क्लबमा झगडा गर्ने तिन युवाहरुलाई बाँके प्रहरीले अमेरिकन अटोमेटिक पेस्तोल सहित बुधबार राति साढे ११ बजे प्रक्राउ गरेको हो ।
नाइट क्लबमा किङक्रसमा प्रहरी पुग्दा झगडा गरिरहेका बर्दिया बाँसगढी नगरपालिका वडा नम्बर ८ का २८ वर्षीय सुमन रिजाल, गेरुवा गाउँपालिका वडा नम्बर ५ का ३२ वर्षीय सागर शाह र कोहलपुर नगरपालिका वडा नम्बर ९ निवासी २९ वर्षिय धर्म पुनलाई नियन्त्रणमा लियो । प्रहरी आएको थाहा पाएपछि सुमन रिजालले क्लबको भुईतलामा रहेको शौचालयमा हतियार लुकाएका थिए । शौचालयमा खानतलासी लिंदा प्रहरीले त्यहाँबाट ‘मेडइन युएसए नम्बर–११११’ लेखिएको एक वटा स्वचालित अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने म्याग्जिनमा लोड गरेको पिधमा पिनको खत भएको १ राउण्ड गोली बरामद गरेको थियो । उनीहरुबाटै एक वटा खुकुरी समेत प्रहरीले बरामद गरेको थियो ।
माथि उल्लेखित घटनाक्रमहरुले बाँके अवैध हातहतियार लिएर हिडने युवाहरुको संख्या बढने क्रममा छ, भन्ने देखाउछ । यसका साथै सुरक्षाका दृष्टिकोणले जिल्ला कतिको असुरक्षित छ भन्ने कुरा पनि उजागर गर्छ । बाँकेमा पछिल्ला तिन बर्षको तथ्याङ्क हेर्ने हो भने, जिल्ला प्रहरी कार्यालय बाँकेमा अवैध हतियार सम्बन्धित दर्ता भएका मुद्दाहरु बढदैं गएका छन् । आर्थिक वर्ष ०७५–०७६ र ०७६–०७७ मा समान ५ वटा, आर्थिक वर्ष ०७७–०७८ मा १४, आर्थिक वर्ष ०७८–०७९ मा ७ वटा मुद्दा दर्ता भएका छन् । यसैगरी चालु आर्थिक वर्ष ०७९–०८० को चैत सम्म ३ वटा मुद्दा दर्ता भएका छन् । माथि उल्लेखित आर्थिक वर्षको अवधिमा ४६ जना प्रक्राउ परेका छन् ।
उनीहरु मध्येबाट पाँचवटा अटोमेटिक पेस्तोल, एयरगन दुईवटा, १५ वटा भरुवा बन्दुक, कटुवा पेस्तोल ९ वटा र दुईनाले भरुवा बन्दुक एकवटा बरामद भएको छ । यससंगै १० राउण्ड पेस्तोलगोली, भरुवा बन्दुकको बारुद १२ सय ग्राम, एसएलआर गोली र तिन सय तिन राईफलको एक–एक राउण्ड गोली समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
यसरी लगातार अवैध हातहतियारको खुलेआम प्रयोग हुनु र यसको ओसारपसार हुनुको मुख्य कारण खुला सिमाना नै भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक रामबहादुर घर्ति बताउँछन् ।
अवैध हातहतियारको खुलेआम प्रयोग र यसको तस्करीका बारेमा बोल्दै प्रवक्ता घर्तिले भने,‘यसरी अवैध हतियारको प्रयोग बढेको खुला सिमानाको कारणले पनि हो । यसका अरु सहायक कारणहरु पनि छन् । तर, हाम्रो अनुसन्धानले खुला सिमानाको फाईदा तस्करहरुले उठाएको देखिन्छ ।’
अवैध हतियार प्रयोग गर्नेलाई मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १ सय ३२ को उपदफा २ बमोजिम पाँच बर्ष कैद र ५० हजार जरिवाना हुने व्यवस्था गरिएको छ । अवैध रुपमा साना हतियारको प्रयोगले बाँकेमा सुरक्षा चुनौति बढाउने गरेको छ भने आम मानिसमा एक किसिमको सन्त्रास उत्पन्न गरेको छ । जुन बाँके प्रहरी र बाँकेवासीका लागि चुनौतिको विषय हो ।