वडा अध्यक्षले कुटपिट गरेको घटनामा न्याय नपाएको गुनासो
Wednesday, May 17th, 2023, 5:28 pm
Kalpristha
गोपाल बहादुर बुढाक्षेत्री
नेपालगन्ज, ३ जेठ
नेपाल राष्ट्रिय प्राथमिक विद्यालय जंगलीसिंह पुर्वाका व्यवस्थापन समिति अध्यक्ष वेद प्रकाश सिंहले आफुलाई वडा अध्यक्षले गरेको कुटपिटको घटनामा प्रहरीले जाहेरी लिन नमाने गुनासो गरेका छन् । विद्यालयमा भएको रिसिबीलाई साध्न नेपालगन्ज उप–महानगरपालिका–२३ का वडा अध्यक्ष जबर अली बेहनाले आफुलाई सामुहिक रुपमा कुटपिट गर्दै ज्यान मार्ने धम्की दिएको वेद प्रकाश सिंहले आरोप लगाए ।
गत चैत २५ गते बिहान ११ बजेको समयमा वडा अध्यक्ष बेहनाले आफुलाई बेसोस हुने गरी कुटपिट गरेको बताए । बेहनाको पिटाईले बेहोस भएका वेदप्रकाशलाई स्थानीय छिमेकीले उपचारको लागि अस्पतालमा पुर्याएका थिए । आफुले कुटाई खाएको घटनामा उल्टै प्रहरीले आफुलाई असहयोग गरेको सिंहले गुनासो गरे ।
आफुलाई कुटपिट गर्दै ज्यान मार्ने धम्की दिदा समेत जिल्ला प्रहरी कार्यालयमा प्रहरीले मुद्दालाई मिलाउने दबाब दिएको उनले बताए । आफु पिडित भएको भन्दैं निष्पक्ष छानबिनका लागि निवेदन दिदाँ प्रहरीले दर्ता गर्न नमानेको सिंहले आरोप लगाए । न्याय नपाएसम्म कानुनी लडाई लड्ने सिंहले कालपृष्ठ दैनिकलाई बताए । वडा अध्यक्ष बेहना नेपाली कांग्रेसका नेता हुन भने सिंह जनमत पार्टीका स्थानीय नेता हुन् ।
विद्यालयको रिसले सिंह माथि हातपात
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २३ को वडा शिक्षा समितिले गरेको निर्णयलाई कार्यान्वयन नगर्नको लागि अदालतले अल्पकालिन आदेश दिएको छ । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २३ अध्यक्ष जबर अली बेहनाले व्यक्ति प्रतिसोध साध्ने नियतले जंगलीसिंह पुर्वाको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको व्यवस्थापन समिति बिघटन गरेका थिए । तर स्थानीय अभिभावकको भेलाले गठन गरेको विद्यालय व्यवस्थापन समितिलाई तत्कालको लागि विघटन नगर्न अदालतले आदेश गरेको हो ।
२३ नम्बर वडा अध्यक्ष बेहनाले विद्यालयको अवस्था के कस्तो छ भनेर सुरुआतमा नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई गत वैशाख १२ गते स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दैं वडाको शिक्षा समितिले गत वैशाख १७ गते व्यवस्थापन समितिलाई बिघटन गर्ने निर्णय गरेको थियो । तर वडाले व्यक्तिगत स्वार्थका लागि प्रतिशोध साध्ने उद्देश्यले व्यवस्थापन समिति विघटन गरेको भन्दैं विद्यालय व्यवस्थापन समिति अध्यक्ष वेद प्रकाश सिंहले उच्च अदालत तुलसीपुर नेपालगन्जमा मुद्दा दायर गरेका थिए ।
त्यसपछि न्यायधिश भानुभक्त शर्मा न्यौपानेले गत वैशाख २८ गते तत्कालको लागि वडा समितिले गरेको निर्णय लागु नर्गन र नयाँ व्यवस्थापन समिति समेत गठन नर्गन आदेश दिएको छ । अदालतले आगामी जेठ ३ गते पेशी तारेख तोकेको छ । विगत एक वर्ष अघि देखी नेपालगन्जको २३ नम्बर वडामा पर्ने नेपाल राष्ट्रिय प्राथमिक विद्यालय जंगलीसिंह पुर्वामा व्यवस्थापन समिति, प्रअ र वडाबिच विवाद भैरहेको छ । यसअघिका प्रअ मुन्ना सिंहले विद्यालयलाई आफनो मनोमानी ढंगले संचालन गर्दै विद्यालयको रकम हिनामिना गरेको आरोप लागेको थियो ।
प्रअ मुन्नालाई उक्त आरोप लागेपछि नेपालगन्ज उप–महानगरपालिकाले तलब समेत रोक्का गरेको थियो । प्रअ सिंहले विद्यालय परिसरमा आफनो व्यक्तिगत समान राख्ने गरेको, विद्यालयको छात्रवृत्ति रकममा हिनामिना गरेको, किर्ते हस्ताक्षर गरेर विद्यार्थीको नाममा आउने सुविधा लिने गरेको आरोप लागेको थियो । आरोप लागेका प्रअ सिंहले अझै विद्यालयलाई आवश्यक कागजात र विद्यालयको महत्वपुर्ण कागजात नबुझाएकोले विवाद भैरहेको बताउँछन व्यवस्थापन समिति अध्यक्ष वेद प्रकाश सिंह । मुन्ना सिंह सरुवा भएर गएपछि उनको स्थानमा लक्ष्मी सि थापा आएकी छिन् । तर उनलाई सिंहले कुनै कागजात नदिएको वेद प्रकाशले बताए ।