‘घुम्न मन लागिरहने नेपालगन्जको वाटरपार्क’
Wednesday, May 17th, 2023, 9:38 pm
Kalpristha
विस्तारै यसको विकास र व्यवस्थापनको लागि नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ र १८ मा अवस्थित वाटरपार्कको सौन्दर्यकरण २०६५ मा शुरू भएको थियो । त्यसले एउटा आकार लियो । तर, स्थानीय तह आईसकेपछि मात्रै वाटरपार्कको सौन्दर्यकरण र नयाँ बस्ती विकासको काम आधुनिक ढंगबाट ‘वाटरपार्क परियोजना’ नै निर्माण गरेर नगर विकास कोषले काम गरिरहेको छ ।
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, २ जेठ
वाटरपार्क, अहिले नेपालगन्जमा धेरै रोजाईको स्थान बन्दै गएको छ । विहानको समयमा त यहाँ झन मानिसको भिड देख्न सकिन्छ । यहाँ मानिसहरु विभिन्न उद्देश्यले आउने गर्छन् । त्यसमा धेरै जसो आफनो स्वास्थ्यलाई स्वस्थ राख्न दैनिक बिहान–साझ आउने गर्छन् । वाटरपार्क किन अहिले नेपालगन्जका धेरै स्थानीयको रोजाईको ठाउँ बन्न गयो त । किन वाटरपार्क आउन मानिसहरुले मनपराउँछन? यसको इतिहास के छ भनेर हामीले आज कालपृष्ठ दैनिकमा प्रस्तुत गर्ने प्रयास गरेका छौं ।
आजभन्दा करिब पाँच दशक अघि नेपालगन्जको आसपासमा बस्ती निर्माण हुदैं थियो । त्यति बेला मानिसहरुले यहाँबाट माटो लैजाने गर्थे । माटो खन्दै लैजादै गर्दा लामो र गहिरो खाडल निर्माण भयो । तर, यहाँको पानी भने सुकेन । पछि स्थानीयहरुले पानीले भरिएको यस ताललाई वाटरपार्क नामाकरण गरिदिए ।
विस्तारै यसको विकास र व्यवस्थापनको लागि नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ र १८ मा अवस्थित वाटरपार्कको सौन्दर्यकरण २०६५ मा शुरू भएको थियो । त्यसले एउटा आकार लियो । तर, स्थानीय तह आईसकेपछि मात्रै वाटरपार्कको सौन्दर्यकरण र नयाँ बस्ती विकासको काम आधुनिक ढंगबाट ‘वाटरपार्क परियोजना’ नै निर्माण गरेर नगर विकास कोषले काम गरिरहेको छ ।
यो परियोजनाबारे नेपालगन्ज उप–महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजाल भन्छन्,– ‘१६ वर्ष पुरानो हो यो योजनामा ६५ बिघा क्षेत्रफलमध्ये १० बिघामा वाटरपार्क रहनेछ । बाँकीमा बसोबासको पूर्वाधारयुक्त आधुनिक बस्ती बसाउने डिजाइन छ । वाटरपार्कको १० बिघा तलाउले ओगटेको छ । तलाउलाई डुङ्गा बिहार र पौडी पोखरीका रूपमा विस्तार हुँदैछ । पार्कमा आकर्षक फूलबारी, बाल उद्यान, व्यापारिक प्रयोजनका पसल कोठालगायतका संरचना निर्माण गरिदैँछ ।’
‘वाटरपार्क परियोजना’ साढे ६ करोडको परियोजना भएको बताउँदै प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष रिजालले नेपालगन्जको धम्बोझी–१ स्थित वाटरपार्कलाई नगरकै महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा विकास गर्न लागिएको बताए । उनले डेढ करोड रकम वाटरपार्क तालको व्यवस्थापनमा मात्रै खर्च भएको उनले जानकारी दिए ।
‘यो योजनाले विविध कारणले अहिलेसम्म पूर्णता पाउन नसकेको यथार्थ हो । तर, अब छिटो भन्दा छिटो काम सम्पन्न गर्ने हाम्रो चाहाना हो । किनभने , यहाँका थुप्रै जनताले लालपुर्जा नपाएको अवस्था छ । यस कारणले पनि यो योजना चाँडै सम्पन्न हुनुपर्छ ।’–उनले भने ।
यहाँ अत्याधुनिक र व्यवस्थित बस्ती बसाउने योजना सँगै यसैगरी वाटरपार्क क्षेत्रभित्र १६ देखि ६ मिटरसम्मको पक्की सडक निर्माण गरिएको छ । नेपालगन्जको सुर्खेत सडकदेखि बर्दियाको गुलेरिया सडक जोड्ने २१ मिटर चौडाइको मुख्य सडक पनि पार्कसँग जोडिने छ । महत्वाकांक्षी योजनाका रूपमा अघि बढाइएको नेपालगन्जको वाटरपार्क क्षेत्र निर्माणको काम पूरा हुने संघारमा छ ।
प्रवक्ता रिजालले यो परियोजनाको करिव ७० प्रतिशत काम सम्पन्न भईसकेको जानकारी दिंदै भने,– ‘यो बहुबर्षिय योजना हो । यसकारण कहिले सकिन्छ भनेर ठ्याक्कै भन्न नसकेपनि यसको ७० प्रतिशत काम भने सम्पन्न भईसकेको छ ।
वाटरपार्कले यसक्षेत्रको प्रर्यटन प्रर्वधनमा राम्रो भुमिका खेल्ने एक स्थानीयले भने । उनले भने,–‘म यहिँ छेउको मान्छे लाई त दिनदिनै आईरहन मनलाग्छ भने, कहिलेकाँही नेपालगन्ज आउनेलाई त झन एक यहाँ पुग्नै पर्छ भन्ने भईहाल्छ नी । यस पार्क वरीपरिका कत्ति परिवार यसरी घुम्न आउनेले गरेको खरिद दारिबाट चलेका छन् । हामीलाई यो कुरा सामान्य लाग्न सक्छ । तर, यो महत्वपुर्ण कुरा हो ।’
‘पहिले–पहिले खाल्डो मात्रै देखिन्थ्यो, अहिले यसले आफ्नै पहिचान बनाउदै लगेको छ,’ –भन्छिन्, स्थानीय दुर्गा पंगाली । ‘केहि बर्ष पहिले यहाँ केहि थिएन । लामो खाल्डो मात्रै थियो । तर अहिले यस्तो राम्रो भएको छ ।’
वाटरपार्क नेपालगन्ज उप–महानगरपालिकाको पहिचान सँग जोडिएको परियोजना भएको बताउँदै उप–प्रमुख कमरुद्दिन राईले भने,–‘शहरीकरण बढीरहेकाबेला यो परियोजना सँगसँगै कान्तितालले पनि यहाँका बासिन्दालाई धेरै फाईदा दिन्छ । यस्तो अवस्था आईसक्यो कि मान्छे जाने ठाँउ कतै छैन । कमसेकम वाटरपार्क परियोजनाले केहि राहत दिने छ ।’
‘साथसाथै यहाँ जुनखालको बस्ती विकास गरिने योजना छ, त्यो निमार्ण सम्पन्न भएको खण्डमा नेपालगन्ज उप–महानगरको छुट्टै पहिचान निर्माणमा टेवा पुग्ने छ ।’