ठगी मुद्दामा पक्राउ परे पप्पु कन्स्ट्रक्सनका संचालक रौनियार
Friday, June 30th, 2023, 9:50 pm
Kalpristha
कमल खत्री
नेपालगन्ज, १५ असार
पप्पु कन्स्ट्रक्सनका संचालक हरिनारायण रौनियार ठगी मुद्दाको आरोपमा काठमाडौंबाट पक्राउ परेका छन् । रौनियारलाई प्रहरी वृत बानेश्वरले शुक्रबार अपराहन्न बानेश्वरबाट पक्राउ गरेको हो । रौनियार विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ठगी सम्बन्धी मुद्दा परेको थियो ।
अदालतले तत्कालको लागि कारोबार रोक्न अन्तरिम आदेश जारी गरेको क्रसर उद्योगको पुनः मुल्याकन गराई बिक्री गर्न खोजेको रौनियारलाई आरोप लागेको थियो । उनले अदालतको आदेशलाई नमानी मुद्दा चलिरहेको क्रसर उद्योग बिक्री गर्न खोजेका थिए ।
गत वैशाख ३ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा रौनियार विरुद्ध कोहलपुर नगरपालिका वडा नम्बर १४ निवासी शोभाराम यादवले ठगी मुद्दा दर्ता गराएका थिए । सोहि आधारमा रौनियार विरुद्ध वैशाख १० गते अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । ठगी मुद्दामा अनुसन्धान गर्नको लागि अदालतबाट पक्राउ पुर्जी जारी भएपछि रौनियारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएसपी नारायण डाँगीले बताए ।
रौनियार यसअघि पनि विभिन्न विवादस्पद मुद्दामा मुझिने गरेका थिए । तर राजनिति आडको सहारा लिदैं उनले ति मुद्दाबाट जोगिदैं आएका थिए । उनले ठेक्का लिएको बर्दियाको जम्धीघाट पुल निर्माण कार्य नसिकिदंै भत्किएको थियो । त्यस्तै नेपालगन्जका सडक निर्माणको ठेक्का पाएका बेला पनि उनले निर्माण गरेका सडक गुणस्तरहिन भएको भन्दैं विवाद आउने गरेको थियो । तर यसपटक भने रौनियार ठगी मुद्दामा प्रक्राउ परे ।
रौनियारले २०७६ सालमा जानकी गाउँपालिका वडा नम्बर ६ मा क्रसर उद्योग खोलेका थिए । क्रसर उद्योगको लेनदेनको विषयमा विवाद हुँदै गएपछि त्यो अदालत सम्म पुग्यो । बाँके जिल्ला अदालतले तत्कालको लागि क्रसर उद्योगको सम्पुर्ण कार्य रोक्न आदेश दिएको थियो । मुद्दाको टुङ्गो नलागेकै अवस्थामा रौनियारले उक्त क्रसर उद्योग बिक्री गर्न खोजेका थिए । त्यही क्रममा २०८० जेठ महिनामा क्रसर उद्योगको जायजेथा पुनःमुल्याकनको प्रक्रिया अगाडी बढाएका बेला वास्तविक कुरा बाहिर आएको थियो । अदालतमा विचाराधिन क्रसर आफुलाई झुक्काएर बिक्री गर्न खोजेको भन्दैं कोहलपुरका यादवले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका थिए । यादवले केहि रकम समेत रौनियारलाई बुझाईसकेका थिए । पछि आफुलाई झुक्काएको भन्दै यादवले आफनो पैसा फिर्ता पाउनु पर्ने माग राख्दै प्रहरीकोमा मुद्दा दर्ता गराएका थिए ।
जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको मुद्दाको आधारमा रौनियरलाई शुक्रबार प्रहरीले पक्राउ गरेर थप अनुसन्धान अगाडी बढाएको छ । रौनियार २०७४ मा पर्सा क्षेत्र नम्बर ३ बाट तत्कालिन संघीय समाजवादी फोरमको सांसद समेत भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा रौनियार विरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्तागरेसँग उनी निलम्बनमा परेका थिए ।