‘विश्वविद्यालयको गुणस्तरमा सम्झौता नगर्नुस’
Monday, July 3rd, 2023, 8:04 pm
Kalpristha
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, १८ असार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उच्च शिक्षाका लागि भइरहेको युवाहरुको विदेश पलायन रोक्नेगरी प्राविधिक बिश्वविद्यालयलाई अघि बढ्न निर्देशन दिएका छन् । नेपालगन्जमा सोमबार आयोजित लुम्बिनी प्राविधिक विश्वविद्यालयको पहिलो बार्षिकोत्सवलाई सम्बोधन गर्दै सो निर्देशन दिएका हुन् । विश्वविद्यालयका कुलपति समेत रहेका मुख्यमन्त्री चौधरीले हतारमा छिटो कक्षा सञ्चालन गर्नभन्दा पनि गुणस्तरीय र सर्वसुलभ शिक्षा प्राप्त गर्नेगरी अघि बढ्न निर्देशन दिए ।
‘नामका लागि नेपालमा धेरै विश्वविद्यालय छन्, यो विश्वविद्यालयलाई अरुभन्दा फरक र नमूना बनाउनुपर्छ, यहाँबाट विदेश पढ्न जाने नभई विदेशबाट यहाँ पढ्न आउने वाताबरण बनाउनु पर्छ ।’– मुख्यमन्त्री चौधरीले भने । मुख्यमन्त्री चौधरीले प्राविधिक विश्वविद्यालयलाई गौरवको आयोजना मात्र नभई प्रदेशको मुटु भएको चर्चा गरे ।
उनले विश्वविद्यालयका लागि वजेट अभाव हुन नदिइने बताउदै भने–‘हामीले यो विश्वविद्यालयलाई विश्वकै शैक्षिक गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यका साथ अघि बढेका छौं । यसर्थ पैसाका कारणले यो विश्वविद्यालयको कुनैपनि कामको गुणस्तरमा कमि हुन दिनुहुँदैन । यसको स्थापनाका लागि सबैका आँखा जनक शिक्षाको भवनमा गएको छ । तर, अलि दिन ढिलो सुरु गरौं, बरु आफ्नै जग्गामा बनेको भवनबाट पढाई सुरु हुनेगरि काम गरौं । अन्त–अन्त नजर लगाएर यो विश्वविद्यालयको पवित्र उदेश्यलाई फेरबदल गर्ने काम नगरौं ।’
विश्वविद्यालयमा राजनीतिक भर्ति केन्द्र हुन पनि नदिइने उनले प्रतिवद्धता ब्यक्त गरे । मुख्यमन्त्री चौधरीले विश्वविद्यालयका लागि आवश्यक एकसय विघा जग्गा सङ्घ सरकारले अहिलेसम्म निर्णय नगरेको भन्दै यसखालका निर्णय प्रदेश सरकारले गर्न पाएपछि मात्रै सङ्घीयता कार्यान्वयन हुने बताए ।
‘संविधानले हामीलाई पनि काम गर्ने मिल्ने गरि प्रष्ट अधिकार तोकेको छ । तर, अँझैपनि संघिय सरकारले हामीलाई त्यसखालको निणर्य लिनसक्ने अधिकार पुर्णरुपमा दिएको छैन । हामीपनि यस विषयमा जनाकर छौं भने, हामीले उचित निर्ण गर्न मिन नपाउने ।’–उनले भने ।
बाँकेको खजुरामा एकसय विघा जग्गा विश्वविद्यालयका लागि छनौंट गरिएको भए पनि निर्णय हुन बाँकी रहेको बताइएको छ । सो अवसरमा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. विनोदप्रसाद ढकालले आगामी भदौंदेखि कक्षा सञ्चालनको तयारी भइरहेको जानकारी दिए ।
कार्यक्रमका अवरमा प्रतिनिधिसभाका सांसद तथा नेपाली काङ्ग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर, प्रतिनिधिसभाका सांसद दिपा शर्मा, चन्द्रकेश गुप्ता, पुर्व मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशसभा सदस्य वादशाह कुर्मी, नेपाल सँस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा. यादव प्रकाश लामिछाने, प्रदेश लोकसेवा आयोगका अध्यक्ष डिलाराम भट्टराई, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसी, खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकलगायतले शुभकामना ब्यक्त गरेका थिए ।

..