लागु औषध प्रयोग विरुद्व विद्यार्थीमा सचेतना
Monday, July 3rd, 2023, 8:07 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ असार
लागु औषध प्रयोग रोकथाम तथा न्युनिकरण सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपालगन्ज उप–महानगरपालिका भित्रका दुईवटा विद्यालयमा सो छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
नेपालगन्ज उप–महानगरपालिका–१९ स्थित सुर्जिगाउँको जगत ज्योतिमाविमा तथा वडा नम्बर १९ कै कान्तिपुर नेपाल राष्ट्रिय माविमा लागु औषध प्रयोग रोकथाम तथा न्युनिकरण सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।
नेपालगन्ज उप–महानगरपालिकामा रहेका २ वटा विद्यालयमा गरिएको सो कार्यक्रममा एक सय ५० जना विद्यार्थीको सहभागिता रहेको थियो ।
यसैविच, विद्यालयमा हाजिरी जवाफ कार्यक्रम समेत सम्पन्न भएको थियो । त्यस अवसरमा बालबालिका बाटै सचेतना कार्यक्रम गर्नसके लागु औषध प्रयोगमा न्युनिकरणका लागि बल पुग्ने लागु औषध विरुद्व निशुल्क परामर्श केन्द्र नेपालगन्ज बाँकेका अध्यक्ष दिपेन्द्र कुमार जैसीले बताए । यसदिन सम्पन्न भएको कार्यक्रममा विद्यार्थीहरुलाई मात्रै सहभागि गराईएको उनले जानकारी दिए ।
लागु औषध विरुद्व निशुल्क परामर्श केन्द्र नेपालगन्ज बाँकेको आयोजनामा सम्पन्न सो कार्यक्रम नेपालगन्ज उप–महानगरपालिकाको सहयोगमा तथा वडा नम्बर १९ का वडाध्यक्ष प्रशुराम कुर्मीको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।
लागु औषध विरुद्व निशुल्क परामर्श केन्द्रले जिल्ला प्रहरी कार्यालय बाँके, सामुदायिक (प्रहरी)सेवा केन्द्र बाँके तथा लागु औषध नियन्त्रण ब्युरो बाँकेसंग समन्वय र सहकार्य गरेको केन्द्रका स्वयंमसेवक बासुदेव उपाध्यायले जानकारी दिए ।