१६ महिनामा १५ प्रतिसत काम सम्पन्न
Monday, October 9th, 2023, 7:45 pm
Kalpristha
१० किलोमिटर रहेको गौघाट–परसपुर सडक खण्ड निर्माणको ठेक्का पाएको कन्काई–गणपति जेभिले गत शुक्रबार देखि खाल्डा खुल्डी पुर्ने र माटो सम्माउने काम सुरु गरेको थियो । तीन दिनमा परसपुर देखि गौघाट सम्मको खाल्डा खुल्डी सम्माउने काम सकिएको निर्माण कम्पनीले जनाएको छ ।
कमल खत्री
खजुरा, २२ असोज
सम्झौता भएको १६ महिना पछि परसपुर–गौघाट सडक खण्डमा १५ प्रतिसत काम सम्पन्न भएको छ । सडक निर्माणको ठेक्का पाएको कन्काई–गणपति जेभिले सुरुआती चरणका काम सकिएको जानकारी गराएको हो ।
कन्काई–गणपति जेभिका प्रमुख तुलसीराम भण्डारीले केहि काम नभएको जनगुनासो आएपनि हालसम्म १५ प्रतिसत काम सकिएको कालपृष्ठ दैनिकलाई बताए । उनले भने,‘काम हुदैं नभएको होइन । सुरुआती चरणमा गर्ने कामहरु आंशिक रुपमा भएका छन् । तर कामै नभएको भने होइन । अब दशैं लगत्तै हामी कामको गति बढाउँछौं ।’
दशैंपछि सडकमा माटो पटानको काम तीव्र गतिमा हुने भण्डारीले बताए । प्रमुख भण्डारीका अनुसार परसपुर–गौघाट सडक खण्डमा हाल सम्म नाला बनाउने काम, हेम पाईप, कल्र्भट, केहि ठाउँमा बाटो चौडा बनाउने काम आंशिक रुपमा भएको छ ।
दैनिक जसो बाँके र बर्दियाका जनतालाई आवात जावतमा समस्या भएपछि स्थानीयहरुले परसपुर–गौघाट सडक खण्ड निर्माण गर्न दबाब दिदैं आएका थिए । भएको पुरानो पक्की सडक भत्किएपछि ६ वर्ष देखि परसपुर–गौघाट सडक खण्डको स्तर उन्नती हुन सकेको थिएन । गएको स्थानीय तहको निर्वाचन, संघ र प्रदेशको निर्वाचनमा यही सडक निर्माण कार्य राजनितिक दलको प्रमुख एजेण्डाका रुपमा अगाडी सारिएको थियो ।
नेपाल सरकारको १३ करोड ४३ लाख लगानीमा निर्माण हुन लागेको परसपुर–गौघाट सडक खण्ड २०८१ भदौं २५ गते सम्म निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको छ । २०७९ वैशाख २५ गते सम्झौता भएको थियो । १० किलोमिटर रहेको गौघाट–परसपुर सडक खण्ड निर्माणको ठेक्का पाएको कन्काई–गणपति जेभिले गत शुक्रबार देखि खाल्डा खुल्डी पुर्ने र माटो सम्माउने काम सुरु गरेको थियो । तीन दिनमा परसपुर देखि गौघाट सम्मको खाल्डा खुल्डी सम्माउने काम सकिएको निर्माण कम्पनीले जनाएको छ ।
सडकको स्तर बिग्रदा बाँके र बर्दियाका जनताले समस्या भोगिरहेका छन् । सडकमा भएका खाल्डा खुल्डीका कारण यस सडक खण्डमा दुर्घटनाका घटना बढ्दा स्थानीयलाई थप समस्या भएको थियो ।
दैनिक रुपमा समस्या भोगिरहेको त्यस क्षेत्रका जनताले स्थानीय जनप्रतिनिधि र नेतालाई पटक–पटक दबाब दिदैं आएका थिए । स्थानीय जनप्रतिनिधिले सडक डिभिजन कार्यालय नेपालगन्ज र निर्माण कम्पनीलाई दबाब दिदैं आएका थिए ।