जाजरकोट र रूकुम पश्चिममा गरी ६४ जनाको मृत्यु
Saturday, November 4th, 2023, 6:43 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ कात्तिक
जाजरकोट केन्द्रबिन्दु भइ मध्यरातमा गएको भूकम्पमा परी ६४ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भीमप्रसाद ढकालका अनुसार आज बिहान ५ बजेसम्मको विवरणअनुसार दुई जिल्लामा गरी ६४ जनाको मृत्यु भएको हो ।
‘रूकुम पश्चिममा २७ जना र जाजरकोटमा ३६ जनाकोम मृत्यु भएको भन्ने बिहान ५ बजेसम्मको रिपोर्ट छ,’ डिआइजी ढकालले भने । दुबै जिल्लामा गरी ९७ जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिएका छन् ।
राहतको काम जारी रहेकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने डीआइजी ढकालले जानकारी दिए । भूकम्प लगत्तै प्रदेश प्रहरी कार्यालयबाट ३६ जनाको उद्धार टोली राति नै परिचालन गरिएको डिआइजी ढकालले जानकारी दिए । त्यस्तै २० जना चौरजहारीबाट र २० जना अन्य सिमानाका प्रहरी कार्यालयहरूबाट राति नै उद्धार टोली पठाइएको उनले बताए ।
भूकम्पका कारण केही क्षेत्रहरू केही गाउँपालिकामा टेलिफोन सेवा पनि अवरूद्ध भएका छन् । रूकुम पश्चिम र जाजरकोटको सिमाना पर्ने रिम्ना भन्ने ठाउँमा पहिरोका कारण सडक अवरूद्ध भएको पनि डिआइजी ढकालले जानकारी दिए ।