पुनः निर्माणको काम युद्ध स्तरमा गछौंः रक्षामन्त्री खड्का
Sunday, November 5th, 2023, 7:47 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ कात्तिक
नेपाल सरकारका रक्षा तथा उप–प्रधानमन्त्री पुर्ण बहादुर खड्काले भुकम्पमा परी घाईते भएका विरामीहरुलाई भेरी अस्पतालमा पुगेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् । आइतबार भेरी अस्पतालमा पुगेर उप–प्रधानमन्त्री खड्काले भेरी अस्पतालमा उपचार गराईरहेका बिरामी र उनीहरुका कुरुवासँग भेटेका थिए ।
भेटका क्रममा खड्काले भेरी अस्पतालमा उपचार गराईरहेका बिरामीहरुको उपचारमा कुनै कमी नआउने बताउँदै सरकारले सम्पुर्ण उपचार खर्च निःशुल्क गरेको बताए । बिरामीहरुलाई भेटेपछि पत्रकारहरुसँग छोटो कुराकानी गर्दै उप–प्रधानमन्त्री खड्काले सुरुआतमा उद्धार कार्यलाई प्राथमिकता दिदैं जतिसक्दो घाईतेलाई छिटो उपचार गराउनमा सरकारका सबै निकायले काम गरिरहेको बताए ।
उनले भने,‘हामीले उद्धार गरेका बिरामीलाई कर्णाली प्रदेश अस्पताल, भेरी अस्पताल र केहीलाई काठमाडौं पठाएका छौं । उपचारमा सबै स्वास्थ्यकर्मीले साथ दिइरहनु भएको छ । उहाँहरु निरन्तर खटिरहनु भएको छ । भुकम्प प्रभावित क्षेत्रमा आजबाट राहत सामाग्री वितरण कार्य सुरु भैसकेको छ ।’
उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले काम गरिरहेको खड्काले बताए । सरकारले अब पुनःनिर्माणको कामलाई युद्ध स्तरमा अगाडी बढाउने खड्काले बताए । उनले भने,‘हामीले विगतको अनुभवबाट सिक्दै पुनः निर्माणको काम पनि छिटै सुरु गछौं । पुनः निर्माणको कामलाई सरकारले गम्भिरताका साथ लिएको छ ।
यसको लागि हामीलाई मित्र राष्ट्र भारत, चीन, लगायतका अन्य दाताले आ–आफनो ठाउँमा सहयोग घोषणा गर्नु भएको छ ।’ आइतबार उप–प्रधानमन्त्री तथा रक्षामन्त्री खड्कासँगैं कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्मा, पुर्व मुख्यमन्त्री जीवन बहादुर शाही, नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही, नेपाली सेनाको उत्तर पश्चिम हेडक्वाटर पृतना पति कृष्ण देव भंट लगायतले भेरी अस्पतालमा रहेका विरामीहरुको अवस्थाको बारेमा जानकारी लिएका थिए ।
उनीहरुलाई भेरी अस्पतालका मेसु डा. पवनजंग रायमाझी लगायतको टिमले स्वास्थ्य अवस्था र विरामीहरुको बारेमा जानकारी गराएका थिए । नेपालगन्जमा रहेको भेरी अस्पताल परिसरमा भुकम्पमा परी घाइते भएका बिरामी र उनीहरुको कुरुवाका लागि अजनी माता रसोईले अस्पताल परिसरमा निःशुल्क रुपमा खाना खुवाउने व्यवस्था गरेको छ ।
गत कात्तिक १७ गते शुक्रबार आएको भुकम्पमा परी नेपालका जाजरकोट र पश्चिम रुकुममा सबैभन्दा धेरै क्षति पुगेको छ । भुकम्पका कारण घाइते भएका ४० जना बिरामीको भेरी अस्पतालमा उपचार भैरहेको छ । जसमध्ये एक जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । भेरी अस्पतालमा २१ जना महिना, १९ जना पुरुष, १ जना गर्भवती र ५ जना जेष्ठ नागरिकको उपचार भैरहेको छ ।