जाजरकोटमा फेरि गयो ५.८ रेक्टर स्केलको भूकम्प
Monday, November 6th, 2023, 5:48 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० कात्तिक
जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको भूकम्प गएको छ । सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सोमबार ४ः३१ मा गएको ५.८ रेक्टर स्केलको परकम्पले भेरी नगरपालिकामा धेरै घर भत्किएको छ भने केही व्यक्ति घाइते भएका छन् ।
शुक्रबारको भूकम्पले १२ जनाको मृत्यु भएको भेरी नगरपालिकाको राउतगाउँमा सोमबार ३ वटा घर भत्किएको छ । शुक्रबारको भूकम्पबाट जोगिएका धेरै घर सोमबारको भूकम्पले भत्काएको स्थानीय वीरबहादुर ओलीले जानकारी दिए । ‘यो भूकम्पले झन् जोखिम बढ्यो, घरनजिक बस्न पनि नसकिने भयौं’, उनले भने ।
राउतगाउँमा भूकम्पमा परी एकजना घाइते भएका छन् । राउतगाउँ वरपरकै गाउँहरु भरावन र गैरी क्षेत्रमा पनि घरहरु भत्किएका छन् । शक्तिशाली परकम्प आउँदा ठूलो आवाज आउनुका साथै गाउँभरि नै घर भत्किएर धुलो उडेको देखिन्थ्यो ।
‘लामो समयसम्म हल्लायो, पहिले नभत्किएका घरहरु पनि अहिले भत्किए’ स्थानीय बलवीर खत्रीले भने । भूकम्पले थप घरहरु भत्किएको र मानिस समेत घाइते भएको जानकारी पाएपछि अस्थायी प्रहरी पोस्ट राउतगाउँको टोली गाउँघरतिर गएको छ ।