नेपालगन्जमा गुन्जिदै ‘आवाज द व्यान्ड’
Wednesday, November 8th, 2023, 6:57 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २२ कात्तिक
यही कार्तिक २४ गते ‘रक अन फेस्टिवल सेलिब्रेसन विथ सुनिल सिंह ठकुरी’ कन्सर्ट हुने भएको छ । कालपृष्ठ दैनिकले पहिलोपटक आयोजना गर्न लागेको ‘रक अन फेस्टिवल सेलिब्रेसन विथ सुनिल सिंह ठकुरी’ कन्सर्टका बारेमा नेपालगन्जमा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।
नेपाली पप गायन क्षेत्रका लोकप्रिय गायक बाँके खजुराका सुनिल सिंह ठकुरीले दर्शकमाझ आफ्नो प्रस्तुति राख्नेछन् । कालपृष्ठका प्रकाशक एवम कन्सर्ट निर्देशक कमल खत्रीले सामाजिक सेवा भावले अभिप्रेरित भएर कार्यक्रम आयोजना गरिएको बताए ।
आर्थिक मन्दीले सबै क्षेत्रमा असर परिरहेको बेला नेपालगन्जमा हुन लागेको कन्सर्टले मनोरञ्जनसँगै आर्थिक पक्षमा थोरै भएपनि योगदान गर्ने खत्रीको विश्वास छ । कन्सर्टबाट आम्दानी भएको रकम मानवीय सेवामा खर्च गरिने बताइएको छ ।
कन्सर्टमा सुनिलसँगै नेपालगन्जको स्थानीय चर्चित ब्यान्ड ‘आवाज द व्यान्ड’ र स्थानीय कलाकारले पनि आफ्नो प्रस्तुति देखाउनेछन् । ‘आवाज द व्यान्ड’ पश्चिम नेपालमा धेरै रुचाहिएको ब्यान्ड हो । नेपालगन्ज बाँकेगाउँस्थित यातायात कार्यालय नजिकैको मैदानमा हुने कन्र्सटमा प्रवेश शुल्क निःशुल्क राखिएको छ । कार्यक्रम स्थलमा केही फुड स्टल समेत रहनेछन् ।
कन्र्सटमा स्थानीय कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको खत्रीले बताए । कन्र्सटको सोसियल मिडिया पार्टनरमा नेपालगन्ज ग्यालरी र इन्टरटेन्मेन्ट पार्टनर चित्रभित्र अनलाइन पोर्टल रहेको छ । कन्र्सट नेपालगन्ज ग्यालरीमार्फत लाइभ देखाइनेछ । हालसम्म कन्सर्ट आयोजनाका लागि नेबिको बिस्कुट, रकस्ट्रङ सिमेन्ट, पिसफुल स्पा, रेडचिल्ली फ्लोरा रेष्टुरेन्ट एन्ड बारले सहयोग गरेका छन् ।
गायक तथा संगीतकार समेत रहेका ठकुरीका दुई दर्जन भन्दा बढी गीत सार्वजनिक भएका छन् । हाल जापानमा बस्दै आएका सुनिलको पहिलो एल्बम ‘क्रेजी ह्याट’ हो । पहिलो एल्बममा रहेको ‘भुलीभुली देउ’ गीत १०औं इमेज अवार्डको नयाँ गायक विधाको मनोनयनमा पर्न सफल भएको थियो । सुनिलले गाएका गीत मध्ये ‘घटना घट्यो’, ‘जनता जान्न चाहन्छन्’, ‘१४ अञ्चल’, ‘म मान्छे बिन्दास’, ‘बेबी सुन न’ चर्चित बनेका थिए । उनले जापानमा गाएको ‘नागोया नागोया आउन बेबी नागोया’ चर्चित बनेको थियो ।
उक्त गीतमार्फत जापानको धार्मिक, सांस्कृतिक र सामाजिक पक्षको प्रचारप्रसारमा योगदान गरेको भन्दै जापानी सरकार र जापानी सरकारी टेलिभिजन एनएचकेले ठकुरीलाई नगदसहित पुरस्कृत गरेको थियो । ठकुरीले आफ्नो ठाउँमा आफ्ना गीत गाउन पाउँदा आफू निकै खुसी भएको बताए ।