पेशा लोप हुन थालेपछि संकटमा पत्थरकट्टा
Tuesday, November 21st, 2023, 7:53 pm
Kalpristha
सुकराम चिडीमार
नेपालगन्ज, ५ मंसिर
मौसमा पत्थरकट्टा सिलौटा बनाउने काम गर्छिन् । बाँके जानकी गाउँ पालिका वडा.न.३ इन्द्रपुर निवासी ६५ वर्षिया मौसमा पुख्र्यौली कर्म गरिरहेकी छिन् तर उनि खुुसी भने छैनिन् ।
अहिलेको कमाईले घर धान्न धौ धौ भएपछि पेशाप्रति भरोसा हराउन थालेको छ भने भविश्यले डराउन थालेको छ । उनको मुख्य काम भनेकै पत्थर काटेर (छिनेर) सिलौटा बनाउने र घरमा घरमा गएर बेच्ने हो । उनि सिलौटा, चकिया(जाँतो) र डोरी बनाउने काम गर्छिन् ।
उनी कुशबंधीया हुन् तर पत्थरको काम गर्ने हुनाले उनि लगायत सो समुदायलाई पत्थरकट्टा पनि भन्ने गरिन्छ । उनको ५ जनाको परिवार छ । श्रीमान, दुई छोरा, एक छोरी । मौसमाले सिलौटा, डोरी, बाटा र चकिया बेचेर आएको आम्दानीले घरपरिवार चलाई रहेपनि अब भने उनलाई गा¥हो लागिरहेको छ ।
छोरा छोरी कसरी पाल्ने भन्ने चिन्ताले उनलाई सताईरहन्छ । मौसमाका श्रीमान पनि काममा खटिदैनन् । कहीले काहीं साँझ बिहानको छाक टार्न पनि गाह्रो हुने उनको भनाई छ । राम्रो आम्दानी नभएको हुनाले छोरा छोरीलाई पढाउन पनि सकेकी छैनिन् ।
घर घरमा बढदो मिक्सरको प्रयोग, नयाँ पुस्ताले पुख्र्यौली पेशा अपनाउन गरिरहेको आनाकानीले पनि पत्थरको काम लोप हुँदै जान थालेको उनको बुझाई छ । कुनै खेती पाती पनि छैन, पत्थरको पेशाले पनि धान्दैन अनि कसरी जीवन चलाउने ? उनले प्रश्न गरिन् ।
सोही ठाउँ निवासी रमेश पत्थरकट्टा पुख्र्यौली पेशा नै गर्दै आएका छन् तर पछिल्लो चरण त्यो पेशाले धान्ने अवस्था देख्दैैनन् । उनि पनि पेशा लोप हुँदै गएकोमा चिन्तित छन् । उनलाई घर परिवार कसरी चलाउने र छोरा छोरी कसरी पढाउने भन्ने चिन्ताले सताउँछ । सिलौटा बनाउने पत्थर रुपैडिया भन्सारबाट सहज रुपमा आयात गरिदिने र युवालाई काम या रोजगारीको व्यवस्था गरिदिए सहज हुने उनको विश्वास छ । भारतको विभिन्न ठाउँबाट पतथ्र ल्याएर आकारमा ढाल्ने गर्दछन् ।
पत्थरकट्टा समुदायकीे अगुवा सिमती पत्थरकट्टा पेशा लोप हुँदै गएकोमा जति चिन्तित छिन् त्यो भन्दा बढता चिन्ता छ – नयाँ पुस्ताले अरु पेशा अपनाउन पनि नथालेकोमा । ६२ वर्षिया सिमती चकियाको सट्टामा मिल, सिलौटाको सट्टामा मिक्सर र डोरीको सट्टामा प्लास्टिकको डोरीको प्रयोग हुन थालेपछि पत्थरको पेशा संकटमा परेको हो । सिमतीका अनुसार नयाँ पुस्ताले पत्थरको काम गर्न हिच्काउँछन् ।
भविश्य सुरक्षित नदेखेपछि यो काममा रुची नराखेको हुन सक्ने उनको बुझाई छ । बाँके जानकी गाउपालिका वडा न. ३ इन्द्रपुरमा पत्थरकट्टा जातिको बसोबास रहेको छ । उनीहरुको घर संख्या ४६ र त्यहाँ करिब ६२ घर परिवारको तीन सय साठी जना बसोबास गरिरहेका छन् ।
जानकी– ३ बस्ने ६० वर्षिया विरजा पत्थरकट्टा पनि पुख्र्यौली पेशा लोप हुँदै गइरहेको हुनाले दुखी छन् । उमेर बढदै जान थालेपछि अरु काम गर्ने अवस्था छैन । सिकेको भनेकै सिलौटा र डोरी बनाउने काम हो, त्यो पनि हराउन थालेपछि जीवन कसरी चलाउने होला भन्ने उनलाई पीर छ ।
सरकारी सुविधा प्रत्येक व्यक्तिलाई मासिक ३ हजारका दरले पाउने गरेका छन् । त्यो पैसाले घरको खाद्यान्न सामाग्री किन्ने, स्वास्थ्य उपचारमा खर्च गर्ने गरेका छन् । खेतीवारी गर्नेलाई जग्गा लिजमा दिने व्यवस्था गरिदिए सहज हुने उनको भनाई छ । विरजा लगायत धेरैलाई सरकारी सेवा सविधाबारे जानकार पनि छैन ।
पत्थरकट्टा समुदायका युवा युवतीलाई निशुल्क शिक्षा, रोजगारी, बस्नको लागि आवास तथा खेतीपाती गर्नलाई जग्गाको आवश्यकता रहेको अगुवा सिमती पत्थरकट्टाको भनाई छ ।
जानकी गाउँपालिका सामाजिक बिकास संयोजक राम अचल धोवीका अनुसार पत्थरकट्टा जातिकाले प्रत्येक महिना ३ हजारको दर सुविधा पाएका छन् । सिमान्तकृत समुदाय लक्षित गरी जानकी गाउँपालिकामा कन्या मा.वि. स्कुल खोलेर त्यो समुदायका बालबालिका पढ्न भनेर निशुल्क शिक्षा, डे«स कापी किताब उपलब्ध गराएको धोवीले बताउनुभयो ।
पालिकाबाट हुने सेवा सुविधा दिइरहेको दावी गर्दै उहाँले पत्थरकट्टाको लागि यो वर्ष बजेट छुट्टयााइने बताउनु भयो । तर कति बजेट कुन शिर्षकमा त्यो भरी खोल्न चाहनु भएन । सामाजिक विकास शाखा प्रमुख शोभा पौडेलका अनुसार पालिका प्रमुखसँग छलफल गरेर सिमान्तकृत समुदाय लक्षित बजेट ल्याउने तयारी भएको जानकारी दिनु भयो ।
जानकी ३ का वडा अध्यक्ष राजकुमार बर्माले वडा कार्यालयबाट दिइने सेवा सुविधा र सामाग्री सजीलो गरि दिईएको बताउनु भयो ।
जानकी गाउँ पालिका प्रमुख छब्बन खानले समुदायका व्यक्तिहरुले प्रस्ताव पेश गरेर योजनाहरु माग गरे सोही अनुसार योजना र बजेट छुट्टाउने प्रत्तिवद्धता व्यक्त गर्नुभयो ।