डिजिटलीकरण तर्फ अगाडी बढदै १२ नम्बर वडा
Thursday, November 23rd, 2023, 12:43 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ७ मंसिर
डिजिटलीकरण तर्फ अगाडी बढिरहेको नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ मा वडा स्तरीय सचेतना कार्यक्रम गरिएको छ । बुधबार सार्वजनिक सेवाहरुको डिजिटलाईजेसनको लागि घर नम्बर प्रणाली, कागजात व्यवस्थापन प्रणाली तथा नेपालगन्ज एकीकृत मोबाइल एप सम्बन्धी वडा स्तरीय पहुँच तथा सचेतना कार्यक्रम गरिएको हो ।
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ ले आयोजना गरेको उक्त कार्यक्रममा टोल कमिटीका अध्यक्ष, वडा भित्रका सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । जिआइजेटको सहयोगमा सुरुआती चरणमा नेपालगन्जका ४ वटा वडामा स्थानीय सार्वजनिक सेवाहरुको डिजिटलीकरण गरिएको छ । उक्त अनलाईन प्रणालीबाट सेवाग्राहीले घरबाटै वडा तथा नगरपालिकाको सम्पुर्ण सूचना तथा जानकारी प्राप्त गर्न सक्नेछन् । सेवा र सुविधाको जानकारी एकै ठाउँमा पाउन सक्नेछन् ।
यसैगरी जनप्रतिनिधिसँग सिधै सुझाव, जिज्ञासा तथा गुनासो राख्ने, सजिलो पहिचानको लागि प्रत्येक घरको फरक–फरक नम्बर जस्ता सुविधाहरु रहेको वडा अध्यक्ष तरण बज्राचार्यले बताए । नागरिकलाई सहजताको लागि वडाले डिजिटल प्रणालीमा जोड दिएको उनले बताए ।
…………
कार्यक्रमका सहभागिहरुलाई जिआइजेटका राष्ट्रिय विज्ञ सुजित झाले सहजीकरण गरेका थिए । सुरुआती चरणमा वडाका अगुवाहरुलाई डिजिटल सेवाहरुको बारेमा जानकारी गराउँदै क्रमश अन्य नागरिकहरुलाई पनि यसको प्रयोगको बारेमा सिकाउँदै लग्ने योजना रहेको वडा अध्यक्ष बज्राचार्यले बताए ।
…………..