नेपालगन्ज उद्योग वाणिज्य संघमा असन्तुष्ट समुहले बोलायो बैठक
Thursday, November 23rd, 2023, 6:53 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ७ मंसिर
नेपालगन्ज उद्योग वाणिज्य संघमा असन्तुष्ट पक्षले बैठकको आवहन गरेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा महासचिव पदको बारेमा उत्पन्न विवादको बारेमा आफनो असमति रहेको जनाउँदैं असन्तुष्ट समुहले विधान रहेको व्यवस्था अनुसार बैठकको आवहन गरेका हुन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघका उप–महासचिव टेक बहादुर खड्का, कोषाध्यक्ष मख्खन धामी लगायत ११ जनाले महासचिव पदका उम्मेदवार टंक प्रसाद शर्माले पुनः मतगणना गराई पाउँ भनेर संघमा दिएको निवेदनको बारेमा भएको निर्णयमा आफनो फरक मत रहेको भन्दैं बैठकको आवहन गरेको हो ।
उक्त समुहले मंसिर १३ गते बिहान ११ः१५ मा नेपालगन्ज उद्योग वाणिज्य संघको सचिवालयमा बैठक बोलाएको छ । यसअघि कात्तिक १३ गते बसेको संघको बैठकमा उच्च अदालत नेपालगन्ज इजलासले २०८० असोज १५ गते निर्णय आधार मानेर विवादित विषयको निर्णय गरिएको थियो ।
त्यसको आधारमा बैठकले टंक प्रसाद शर्माको रिट अदालतले खारेज गरिदिएको भन्दैं संघमा दिएको निवेदनको औचित्य सकिएको भन्दैं सर्व सम्मत रुपमा खारेज गरेको सार्वजनिक गरिएको थियो । तर उक्त निर्णयमा आफुहरुले आपत्ति जनाएर फरक मत राखेको अवस्थामा सर्वसम्मत रुपमा निर्णय गरिएको भन्दैं संघले बैठकका निर्णय सार्वजनिक गरेको भन्दैं असन्तुष्ट समुहले बिरोध जनाएको छ ।
आफुहरुको फरक धारणा रहँदा रहँदै विधान विपरित निर्णय गरिएको भन्दैं उप–महासचिव खड्काको नेतृत्वमा रहेको समुहले संघको विधान अनुसार बैठकको आवहन गरको हो । संघको विधानमा कार्यसमितिको २५ प्रतिसत सदस्यले लिखित रुपमा कार्यसमिति बैठक बोलाउन माग गरेको अवस्थामा महासचिवले त्यसरी माग भएको १५ दिनभित्र बैठक बोलाउनु पर्ने व्यवस्था छ ।

………………
यदि महासचिवले बैठक नबोलाएको अवस्थामा १५ दिनको अवधि सकिएपछि २५ प्रतिसत सदस्यले अध्यक्ष र महासचिव, कार्यसमिति सदस्यहरुलाई बैठकमा छलफल हुने विषयको जानकारी बारेमा बैठक बस्नु भन्दा ७ दिन अघि लिखित रुपमा सुचना दिएर कार्यसमितिको बैठक बोलाएर आवश्यक निर्णय गर्न सक्ने व्यवस्था छ ।
त्यही व्यवस्थालाई टेकेर कार्यसमितिका उप–महासचिव खड्का, कोषाध्यक्ष धामी, कार्यसमिति सदस्य शिव प्रसाद दाहाल, सन्तोष पौडेल, युवराज ढकाल, एशोसिएट सदस्य प्रदिप गुप्ता, सम्बद्ध सदस्य हिमनाथ पौडेल, महिला सदस्य उमा ग्राण्डन, सोनाली गुप्ता, सम्बद्ध सदस्य किसन गुरुङ र वरिष्ठ सदस्य अब्दुल जलिल मन्सुरीले पदाधिकारी तथा सदस्यहरुलाई बैठकको लागि आवहन गरेका छन् । आवहन गरिएको पत्रमा मन्सुरीको भने हस्ताक्षर रहेको छैन् ।