उद्योग वाणिज्य संघको असन्तुष्ट समुहको छुटैं बैठक
Thursday, November 30th, 2023, 8:52 am
Kalpristha
नेपालगन्ज उद्योग वाणिज्य संघमा विवाद
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ मंसिर
निर्वाचनको समयदेखि विवादमा तानिएको नेपालगन्ज उद्योग वाणिज्य संघमा थप विवाद बढ्दै गएको छ । संघको बैठकमा दुई फरक समुहबिच मतभेद बढदै गएपछि निर्णयहरु पनि विवादित बन्दै गएका छन् ।
बुधबार नेतृत्वसँग असन्तुष्ट समुहले नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालयमा बैठक बसेर विभिन्न निर्णय गरेको छ । जसको नेतृत्व गरेका छन् नेपालगन्ज उद्योग वाणिज्य संघका उप–महासचिव टेक बहादुर खड्का र कोषाध्यक्ष मख्खन धामीले । यसैगरी अर्को तर्फ अध्यक्ष टंकबहादुर धामी, अन्य शिर्ष पदाधिकारी र केहि सदस्यहरु फरक कित्तामा छन् ।
अध्यक्ष लगायतका शिर्ष पदाधिकारी उक्त बैठकमा नआएपछि बुधबार संघको कार्यालयमा खड्काको अध्यक्षतामा बैठक बसेको थियो । जुन बैठकमा अध्यक्ष, उपाध्यक्ष, महासचिव लगायत अन्य पदाधिकारी र सदस्यहरु सहभागी भएनन् ।
निर्वाचनको समयमा महासचिवको पदमा उत्पन्न विवादको विषयलाई लिएर नेपालगन्ज उद्योग वाणिज्य संघमा दुई समुह फरक–फरक कित्तामा उभिएका छन् । जसका कारण संघको क्रियाकलापमा समेत असर पर्न थालेको छ । उद्योग, व्यवसायीहरुको हक, अधिकार र हौसला प्रदान गर्ने संघ आफै विवादमा तानिएपछि यसको गरिमा समेत असर पर्ने देखिन्छ ।
बुधबार उप–महासचिव खड्काले नेतृत्व गरेको बैठकले यसअघि संघको बैठकले गरेका निर्णयहरु प्रति असमति जनाउने निर्णय गरेको छ ।
यसअघि कात्तिक १३ गते बसेको संघको बैठकमा उच्च अदालत नेपालगन्ज इजलासले २०८० असोज १५ गते निर्णय आधार मानेर विवादित विषयको निर्णय गरिएको थियो ।
त्यसको आधारमा बैठकले टंक प्रसाद शर्माको रिट अदालतले खारेज गरिदिएको भन्दैं संघमा दिएको निवेदनको औचित्य सकिएको भन्दैं सर्व सम्मत रुपमा खारेज गरेको सार्वजनिक गरिएको थियो । तर उक्त निर्णयमा आफुहरुले आपत्ति जनाएर फरक मत राखेको अवस्थामा सर्वसम्मत रुपमा निर्णय गरिएको भन्दैं संघले बैठकका निर्णय सार्वजनिक गरेको भन्दैं असन्तुष्ट समुहले बिरोध जनाएको छ ।
आफुहरुको फरक धारणा रहँदा रहँदै विधान विपरित निर्णय गरिएको भन्दैं उप–महासचिव खड्काको नेतृत्वमा रहेको समुहले असमति जनाउँदै आएको छ ।
संघको विधानमा कार्यसमितिको २५ प्रतिसत सदस्यले लिखित रुपमा कार्यसमिति बैठक बोलाउन माग गरेको अवस्थामा महासचिवले त्यसरी माग भएको १५ दिनभित्र बैठक बोलाउनु पर्ने व्यवस्था छ ।
यदि महासचिवले बैठक नबोलाएको अवस्थामा १५ दिनको अवधि सकिएपछि २५ प्रतिसत सदस्यले अध्यक्ष र महासचिव, कार्यसमिति सदस्यहरुलाई बैठकमा छलफल हुने विषयको जानकारी बारेमा बैठक बस्नु भन्दा ७ दिन अघि लिखित रुपमा सुचना दिएर कार्यसमितिको बैठक बोलाएर आवश्यक निर्णय गर्न सक्ने व्यवस्था छ ।

…………
त्यही व्यवस्थालाई टेकेर कार्यसमितिका उप–महासचिव खड्का, कोषाध्यक्ष धामी, कार्यसमिति सदस्य शिव प्रसाद दाहाल, सन्तोष पौडेल, युवराज ढकाल, एशोसिएट सदस्य प्रदिप गुप्ता, सम्बद्ध सदस्य हिमनाथ पौडेल, महिला सदस्य उमा ग्राण्डन, सोनाली गुप्ता, सम्बद्ध सदस्य किसन गुरुङले बैठकको लागि आवहन गरेका हुन् ।