मंसिर २० गते महासचिवको पुनः मतगणना गर्ने निर्णय
Thursday, November 30th, 2023, 10:00 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ मंसिर
नेपालगन्ज उद्योग वाणिज्य संघका उप–महासचिव टेक बहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले महासचिव पदको मतगणना पुनः गर्ने निर्णय गरेको छ ।
बुधबार खड्काको अध्यक्षतामा बसेको बैठकले आगामी मंसिर २० गते महासचिव पदको मतगणना पुनः गर्ने निर्णय गरेको हो । त्यसका लागि एक अधिकृतको संयोजकत्वमा तिन सदस्य टोली गठन गर्ने समेत निर्णय गरिएको छ । उप–महासचिव खड्काले जिल्ला प्रशासन कार्यालय बाँकेलाई पत्र लेखेर त्यसको जानकारी समेत पठाएका छन् । खड्काले शान्ति सुरक्षाको लागि जिल्ला प्रहरी कार्यालय बाँकेलाई पनि अनुरोध गरेका छन् ।
यसअघि भएको संघको निर्वाचनमा महासचिव पदका उम्मेदवार टंक प्रसाद शर्माले पुनः मतगणना गरी पाउन संघको विधान २०५३ को धारा ४४ बमोजिम उजुरी दिएका थिए । संघको विधानमा रहेको धारा २८(६) बमोजिम बुधबार बोलाइएको बैठकले आगामी मंसिर २० गते महासचिव पदको पुनः मतगणना गर्ने निर्णय गरेको हो । बुधबार बसेको बैठकमा भने अध्यक्ष लगायत शिर्ष पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थिएन ।

…………
नेपालगन्ज उद्योग वाणिज्य संघमा निर्वाचन अघि देखि नै विवादित बन्दै आएको थियो । विभिन्न राजनितिक समुह विभाजित भएका नेताहरुले एक अर्कालाई आरोप प्रत्यारोप लगाउँदै आएका छन् । निर्वाचन अघि सदस्यताको विषयमा विवाद भएको थियो । पछि मतगणनामा पनि त्यसले निरन्तरता पायो । निर्वाचन सम्पन्न भैसकेपछि अहिले नेपालगन्ज उद्योग वाणिज्य संघ सार्वजनिक रुपमा दुई फरक कित्तामा विभाजित भएको छ ।