सुरक्षा निकाय प्रमुखसँग रेडक्रसको समन्वय बैठक सम्पन्न
Thursday, November 30th, 2023, 5:30 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ मंसिर
नेपाल रेडक्रस सोसाइटी बाँके शाखा र बाँकेका प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षा निकायका प्रमुखहरुसंग परिचयात्मक र समन्वय बैठक विहीवार सम्पन्न भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बाँकेमा बाढी, आगलागी, शितलहर, लु (तातो हावा) र सड्क दुर्घटना प्रमुख प्रकोपको रुपमा रहेको बताउँदै उक्त विपद्बाट प्रभावित समुदायमा नेपाल सरकार र रेडक्रसले मिलेर तत्काल सहयोग गर्दै आएको कुरा उल्लेख गरे ।
पोखरेलले हरेक वर्ष विपद् प्रतिकार्य योजना निर्माण गर्ने गरिएको तर प्रभावकारी कार्यान्यवनमा चुनौति देखिएकोमा निराशा व्यक्त गरे । विपद् प्रतिकार्यका लागि मौजुदा सामग्रीहरु तयारी र चुस्त दुरुस्त अवस्थामा राख्न स्थानीय तहलाई उनले अनुरोध गरे ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखा सभापति गोवर्धन सिंह सम्झनाले हालै भूकम्पबाट जाजरकोटा र रुकुम जिल्लाका प्रभावित समुदायलाई रेडक्रसले तत्काल सहयोग गरेको चर्चा गर्दै विपद् प्रतिकार्यको लागि बाँके शाखा संधै नेपाल सरकारलाई सहयोग गर्दै आएको जानकारी गराए ।
सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, बज्रदल गणका प्रमुख सेनानी रबिन श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सुबास चन्द्र बोहरा, उप–अनुसन्धान निर्देशक मोहन कुंवर लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी बाँके जिल्ला कार्यसमिति र नेपालगन्ज उप–महानगरपालिका भित्रका उपशाखाका सभापतिहरुको सहभागिता रहेको थियो भने कार्यक्रममा रेडक्रस बाँकेद्वारा संचालित गतिविधिहरुको प्रस्तुती शाखाका उपनिर्देशक दोलखबहादुर डाँगीले गरेका थिए ।