दर्ता बिना चलेका १ सय ३२ इ–रिक्सा नियन्त्रणमा
Tuesday, December 5th, 2023, 6:39 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ मंसिर
यातायात कार्यालयमा दर्ता नभएर चलाईरहेका रातो नम्बर प्लेटका इ–रिक्सालाई नियन्त्रणमा लिन सुरु गरिएको छ । रातो प्लेट नम्बर राखेर यात्रु बोकिरहेका १ सय ३२ इ–रिक्सालाई मंगलबार नेपालगन्जमा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको हो ।
नेपालगन्जमा अनियन्त्रित रुपमा इ–रिक्साको संख्या बढदैं गएपछि पछिल्लो समय नगरमा सवारी दुर्घटनाको संख्या बढदै गएको छ । इ–रिक्सा चालकहरुलाई ट्राफिक नियमहरुको बारेमा समेत जनचेतना नहुँदा नेपालगन्जमा इ–रिक्सा व्यवस्थापन चुनौति बन्दै छ ।
इ–रिक्सा व्यवस्थापनको समस्या बढदै गएपछि नेपालगन्ज उप–महानगरपालिकाले कार्यविधि नै बनाएर काम गरिरहेको छ । सरोकारवाला निकायसँगको समन्वयमा नेपालगन्ज उप–महानगरपालिकाले इ–रिक्सा व्यवस्थापनलाई महत्व दिएर काम गरिरहेको बताउँछन मेयर प्रशान्त विष्ट । नेपालगन्ज नगरमा देखिएको इ–रिक्सा व्यवस्थापन क्रमश सुधार हुँदै जाने उनले बताए ।
इ–रिक्सा चालकलाई अस्थायी चालक अनुमति पत्र वितरण र यातायात कार्यालयमा दर्ता नहुनेलाई सुरुआतमा सचेत गराउने काम गरेको उनले बताए । त्यसपछि क्रमश अब दर्ता बिनाका इ–रिक्सालाई केहि समय दर्ता गर्नको लागि समय दिदैं उक्त अवधिमा पनि दर्ता नभएको अवस्थामा कारबाही गर्नको लागि ट्राफिक प्रहरीलाई अनुरोध गर्ने उप–महानगरपालिकाले जनाएको छ ।
मंगलबार नेपालगन्ज उप–महानगरपालिकाको अगुवाईमा ९३ वटा रातो नम्बरका इ–रिक्सालाई जिल्ला प्रशासन कार्यालय र ३९ वटालाई नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा राखिएको छ ।
नियन्त्रणमा लिइएका इ–रिक्सालाई यातायात कार्यालयबाट कालो नम्बर प्लेट लिएर आएपछि मात्र गुडन दिने मेयर प्रशान्त विष्टले बताए । यातायातको नियम अनुसार यात्रु बोक्ने रिक्साले यातायात कार्यालयमा दर्ता भएर कालो नम्बर प्लेट लिन अनिवार्य छ । तर नेपालगन्जमा यातायात कार्यालयमा दर्ता नभएर इ–रिक्सा गुडिरहेका थिए । यसले नेपालगन्जमा इ–रिक्साको यकिन तथ्याङ राख्न समेत समस्या पर्ने गरेको थियो ।
यही समस्यालाई समाधानको लागि नेपालगन्ज उप–महानगरपालिकाले सरोकारवाला निकायसँग छलफल र समन्वय गर्दै आएको थियो । गत मंसिर ९ गते जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सरोकारवाला निकायहरुको बैठकले मंसिर २३ देखि नेपालगन्जमा रातो नम्बर प्लेटका इ–रिक्सालाई यात्रु बोक्न प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । उक्त बैठकले अवैध रुपमा गुडिरहेका इ–रिक्साहरुलाई कालो नम्बर प्लेट लिनको लागि मंसिर २२ गतेसम्मको समय दिने निर्णय गरेको थियो ।
…………….
नेपालगञ्ज उप–महानगरपालिका क्षेत्रभित्र यात्रु बोक्ने धेरैजसो इ–रिक्साहरु रातो नम्बर प्लेटमा चलिरहेको सन्दर्भमा यसअघि कार्तिक २४ गते बसेको बैठकले २१ दिने सूचना प्रकाशन गरेर रातोलाई कालो नम्बर प्लेट बनाउन दिने निर्णय गरेको थियो । उक्त अवधि मंसिर १५ गते समाप्त भएपछि थप ७ दिन समय दिएर दिइएको थियो ।
मंसिर २३ गतेदेखि भने रातो नम्बर प्लेट भएका इ–रिक्साले यात्रु बोकेर गुडेको अवस्थामा कारबाही गर्ने निर्णय गरिएको थियो ।
…………..