प्रयोगशालाको परीक्षण रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज भएको चार घण्टापछि ज्यान गयो, परीक्षण रिपोर्टमै आशंका
Sunday, August 16th, 2020, 2:27 pm
amit
पर्सा, ३२ साउन । कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएको केही घण्टापछि वीरगञ्जमा एक जनाको ज्यान गएको छ ।
वीरगञ्ज हेल्थ केयरमा बनाइएको नारायणी अस्पताल विषेश कोरोना अस्थायी अस्पतालबाट वीरगञ्ज महानगरपालिका १३ का ५५ वर्षीय पुरुष शनिबार राति कोरोना सङ्क्रमणमुक्त भएको रिपोर्ट आएपछि डिस्चार्ज भएको थियो र त्यस्को केही घण्टापछि उनको मृत्यु भएको हो ।
मृतकको नारायणी प्रयोगशालामा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो ।
त्यस्तै चिकित्सकका अनुसार डिस्चार्ज भएको समयमा नै झाडापखाला लागेको र अक्सिजनको मात्रा पनि कम भएकोले उहाँलाई उपचारको लागि अस्पताल भर्ना गर्न सल्लाह दिइएको थियो ।
चिकित्सकका सल्लाह अनुसार आफन्तले कोरोना ंसंक्रमणमुक्त भएपछि त्यहीँ अस्पतालमा राख्न नमिल्ने भएकाले उनलाई नारायणी वयोधा अस्पतालको आईसीयूमा भर्ना गरेका थिए । उपचारकै क्रममा शनिबार राति साढे ११ बजे उनको ज्यान गएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
त्यस्तै प्रयोगशालाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आपछि डिस्चार्ज भएको चार घण्टापछि मृत्यु भएपछि अहिले परीक्षण रिपोर्टमै आशङ्का उत्पन्न भएको छ । मृतकका आफन्तले फेरि स्वाब परीक्षणको माग राखेका छन् भने मृतकको शव नारायणी वयोधा अस्पतालमै राखिएको छ ।
मृतकका एक छोरामा पनि कोरोना सङ्क्रमण देखिएपछि हाल उनलाई होटल रानीपोखरीमा बनाइएको सामुदायिक आइसोलेशनमा राखेर उपचार गरिरहेको छ । मृतकका श्रीमती र अर्को छोराको पनि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
गत साउन १७ मै मृतकको स्वाब संकलन गरी नारायणी अस्तालको प्रयोगशालामा परीक्षणमा गरिएको थियो भने साउन १९ गते उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।