महिना दिनपछिको सकस पछि सोमबार बस्ने भयो नेकपा सचिवालय बैठक
Sunday, August 16th, 2020, 2:51 pm
amit
काठमाडौं, ३२ साउन । सत्तारूढ नेकपाको सचिवालय बैठक सोमबार बस्ने भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार समसममियक विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको हो ।
यसअघि वरिष्ठ नेता झलनाथ खनाल,माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी विवादको समाधानका लागि गठन भएको कार्यदलको कार्यादेश निर्धारण गर्न सचिवालय बैठक बस्नु पर्ने माग राखेका थिए।
गत साउन ३ गतेदेखि नेकपा सचिवालय बैठक बस्न सकिरहेको छैन भने साउन ३ गतेको बैठकमा मंसिरमा अर्ली महाधिवेशन गर्न प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी ओलीले प्रस्ताव राखेका थिए ।
त्यस्तै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहमति जनाए पनि बैठक पछि भने आफू अर्ली महाधिवशेनको पक्षमा नरहेको स्पष्ट पारेका थिए ।
त्यसपछि पाटीभित्र विवाद थप चर्किँदै गइरहेको छ । गत साउन १३ मा प्रधानमन्त्री ओलीले एकतर्फी रूपमा स्थायी कमिटी बैठक स्थगित गरेको भन्दै अर्का अध्यक्ष प्रचण्डले असन्तुष्टि व्यक्त गर्दै बैठक आयोजना गरेका थिए । सो बैठकमा २९ जना स्थायी कमिटी सदस्य उपस्थित भएका थिए ।
शुक्रबार दुई अध्यक्षबिच भएको छलफलले विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल बनाएको छ भने नेकपाभित्रको विवाद समाधानउन्मुख बन्दै गएको नेताहरूले दाबी गरेका छन् ।