एनआरएनको सहयोगमा सुरु भयो रक्त संकलन घुम्ती बस सेवा
Friday, January 26th, 2024, 7:17 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ माघ
नेपाल रेडक्रस सोसाईटी बाँकेलाई गैर आवासीय नेपाली संघ(एनआरएन)ले ‘एनआरएन मोबाईल बल्ड बस’ सहयोग गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच एनआरएन टिमले नेपालगन्ज उप-महानगरपालिकाका कार्यवहाक मेयर कमरुद्दिन राई र नेपाल रेडक्रस सोसाईटी बाँके शाखाका सभापति गोर्वद्धन सिंह सम्झनालाई ‘एनआरएन मोबाइल बल्ड बस’ को साँचो हस्तान्त्रण गर्नु भयो ।
लुम्बिनी प्रदेशका लागि करिब १ करोड रुपैयाँ पर्ने एनआरएन मोबाईल बल्ड बस हस्तान्त्रण गरिएको एनआरएनका सल्लाहाकार एवम् खेलकुद विभाग संयोजक हेमन्त काफलेले बताउनु भयो । उक्त बस सेवा सुरु भएपछि लुम्बिनी प्रदेशमा रगत अभाव कारण कुनै पनि बिरामी समस्यामा नपर्ने उहाँले बताउनु भयो ।
………
एनआरएनले ‘एनआरएन मोबाईल बल्ड बस’ हस्तान्त्रण गरेसँगैं बाँकेबाट रक्त संकलन घुम्ती बस सेवा सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले शुक्रबारदेखि रक्त संकलन घुम्ती बस सेवा संचालन गरेको हो । एनआरएनएले लुम्बिनी प्रदेशका लागि रक्त संकलन बस सेवा शुक्रबार देखि नै सुरु गरेको छ ।
एनआरएनएका अध्यक्ष डा. बद्री केसी र कार्यबहाक नगर प्रमुख कमरुद्दिन राई अनि रेडक्रस बाँके शाखाका सभापति गोवद्र्धन सिंह सम्झनाले संयुक्त रुपमा शुभारम्भ रक्त संकलन घुम्ती बस सेवाको सुभारम्भ गर्नु भएको हो । अत्याधुनिक सेवा सुविधा सहितको वातानुकुलित बस सेवामा प्राविधिक टिम, रगत संकलन कक्ष, भण्डारण फ्रीज, आराम कक्षको व्यवस्था छ । ग्रामीण इलाकामा पुगेर रगत संकलन गर्न सहजता पुगोस भन्ने मुख्य उद्देश्यका साथ अहिलेसम्म लुम्बिनीसहित पाँच प्रदेशमा रक्त संकलन घुम्ती बस हस्तान्तरण गरिसकेको एनआरएनएका उपाध्यक्ष रामशरण सिंखडाले बताउनु भयो ।
आगामी दिनमा कणर्ाली र गण्डकीमा बस हस्तान्तरण तयारी भैरहेको एनआरएनएले जानकारी गराएको छ । नेपालगन्ज उप-महानगरपालिकाका कार्यवहाक प्रमुख राईले सरकार पुग्न नसकेको ठाउँमा रेडक्रस पुगेको बताउँदै रक्त संकलन घुम्ती बस सेवाले मानवीय सेवामा अर्को आयाम थपिएको उल्लेख गरे ।
…………
उनले बस सेवा सुरु भएपछि ग्रामीण क्षेत्रमा पुगेर रगत संकलन गर्न सहज हुने विश्वास व्यक्त गरे । एनआरएनएका अध्यक्ष डा. केसीले नेपालको विकास र समृद्धिका लागि एनआरएनले विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको बताउँदै लगानी मैत्री वातावरण बनाइदिन सरकारसँग आग्रह गर्नु भयो ।
कार्यक्रममा गैर आवासीय नेपाली संघका सल्लाहकार टेकबहादुर कार्की, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश महासचिव नवराज ढुंगाना, एनआरएन अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।