आजबाट भदौ ९ गतेसम्म भक्तपुरको मध्यपुरथिमिमा लकडाउन
Sunday, August 16th, 2020, 3:23 pm
amit
भक्तपुर, ३२ साउन । समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि मध्यपुरथिमि नगरपालिकाले आजबाट लकडाउन गरेको छ । नगरपालिकाले नागरिकको स्वास्थ्य सुरक्षाका लागि आगामी भदौ ९ गतेसम्मका लागि लकडाउन गरेको हो ।
नगर प्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार नगरपालिका क्षेत्रभित्र हालसम्म ४१ जना कोरोना सङ्क्रमित पुष्टि भइसकेको हुनाले नगरपालिकाले लकडाउन गरेकोे हो ।
लकडाउनका कारण आज पसल, व्यवसाय ठप्प भएको छ भने अत्यावश्यक सामान खाद्यान्न, पानी, ग्यास र औषधि पसल बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टा मात्रै खोल्न दिएको छ ।
यसैगरी लकडाउन अवधिभर नगरपालिका क्षेत्रमा पर्ने अरनिको राजमार्गको पूर्वतर्फ हनुमन्ते नदी राधेराधेदेखि पश्चिमतर्फ जडीबुटी मनोहरा पुलसम्म कुनै पनि सवारी साधनलाई यात्रु चढाउन र ओराल्न समेत दिएको छैन । नगरपालिका क्षेत्रभित्रका सडकमा अत्यावश्यक सवारी साधनबाहेकका सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको प्रमुख श्रेष्ठले जानकारी दिएका छन् ।
त्यस्तै शनिबार नगरपालिकाद्वारा सञ्चालिन नेपाल कोरियामैत्री नगरपालिका अस्पताल कार्यरत तीन नर्स र एक सहयोगी गरी चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको थियो । आजबाट नै आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो ।