टेबल टपर बन्दै नेपाल सेमिफाइनलमा
Wednesday, April 17th, 2024, 4:04 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ बैशाख
एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको समूह चरणमा नेपाल अपराजित भएको छ । बुधबार साउदी अरबलाई ६ विकेटले पराजित गर्दै नेपाल समूह ‘ए’ मा अपराजित रहेको हो । यसअघि नेपालले समूहमा मलेसिया, कतार र हङकङलाई पराजित गरेको थियो ।
साउदीले दिएको ७४ रनको लक्ष्य नेपालले ४ बल खेल्न बाँकी छदा ४ विकेट गुमाएर पार ग¥यो । नेपालका लागि गुल्सन झाले नटआउट ३२ रन बनाए । उनले १९ बलमा २ चौका र २ छक्का हिर्काए । कप्तान रोहितकुमार पौडेलले ७ बलमा १ चौका र १ छक्काको मद्दतमा नटआउट १६ रन बनाए ।
त्यसअघि ओपनरद्वय कुशल भुर्तेल शून्य र आसिफ शेख २ रनमा आउट भए । कुशल मल्ल २ रनमै आउट भएका थिए । दीपेन्द्रसिंह ऐरीले ९ बलमा ३ चौका प्रहार गर्दै १७ रन जोडे । वर्षाका कारण मैदान हिलो हुँदा ८ ओभरमा झारिएको खेलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको साउदीले ७ विकेटको क्षतिमा ७३ जोड्यो ।
साउदीका लागि अब्दुल वाहीदले सबैभन्दा बढि ३७ रन जोडे । उनले १६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा नेपालका करण केसी र अभिनास बोहराले २–२ विकेट लिए । ललित राजवंशी र प्रतिश जिसीले १–१ विकेट हात पारे ।
नेपाल एक खेल बाँकी छँदै समूह विजेता बनेको थियो । नेपालसँग पराजित भएपछि साउदी भने बाहिरिएको छ । नेपालको जितले समूह हङकङ समूह उपविजेता बनेर अन्तिम चारमा पुग्यो । समूहमा नेपालले ८ अंक जोड्दा हङकङ र कतारले ४–४ अंक जोडे । रनरेटमा हङकङ अघि रह्यो । साउदी र मलेसियाले २–२ अंक मात्र जोड्न सके ।
१० टिम सहभागी कपको आयोजक ओमान समूह ‘बी’ मा छ । समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन् । आज समूह ‘बी’ मा ओमान र कुवेत तथा युएई र कम्बोडिया भिड्दैछन् । नेपालले समूह ‘बी’ को उपविजेतासँग अन्तिम चारमा भिड्नेछ । सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ ।
यो प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ । सन् २०२५ को एसिया कप टी–२० फर्म्याटमा हुनेछ । शीर्ष तीन टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन् । प्रतियोगितालाई आइसिसी टी–२० विश्वकपको तयारीको रूपमा लिइएको छ । गत वर्ष नेपालमा भएको प्रतियोगिता जितेको नेपालका लागि उपाधि रक्षा गर्ने चुनौती पनि छ ।