नतिजा प्रकाशनमा अनियमितता गर्नेलाई कारबाही गर्दै कोहलपुर नगरपालिका
Monday, April 22nd, 2024, 8:56 pm
Kalpristha
कमल खत्री
नेपालगन्ज, वैशाख १० गते
कोहलपुर नगरपालिकाले आधारभुत तह कक्षा ८ को परीक्षा नतिजा प्रकाशनमा अनियमिता गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ ।
नतिजा प्रकाशनका क्रममा अनियमितताको आरोपमा नगरपालिकाकै कर्मचारी तथा निजी विद्यालयका संचालक, शिक्षकहरु कारबाहीमा पर्ने भएका छन् । परीक्षा नतिजा प्रकाशनमा अनियमितता गरेको घटनाको बारेमा प्रहरीले समेत अब छानविन गर्ने भएको छ ।
कोहलपुर नगरपालिका शिक्षा शाखा प्रमुख राम बहादुर हमाल, परीक्षा शाखा अधिकृत रविलाल मिजारसहितका कर्मचारीको नतिजा प्रकाशनमा मिलेमतो देखिएको भन्दैं कारबाही गर्ने नगरपालिकाले निर्णय गरेको हो ।
परीक्षाको नतिजामा अनियमितता गरेको आरोपमा केहि निजि विद्यालयका संचालक तथा शिक्षकहरुको संलग्नता देखिएको छ । अनियमतामा संलग्नहरुलाई कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाउने निर्णय गरिएको कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आर्चायले बताउनु भयो ।
सोमबार कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्य, उप–प्रमुख संगीता सुवेदी, प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकाल सहितको उपस्थितीमा छानविन तथा जाँचबुझ समितिको प्रतिवेदन सार्वजनिक गरिएको थियो ।
नगर प्रमुख आचार्यले कोहलपुरको शिक्षा क्षेत्रमा सुधार गर्नको लागि प्रतिवेदनले दिर्घकालिन रुपमा प्रभाव पार्ने बताउनु भयो ।
कोहलपुर नगरपालिकाले २०८० चैत २ देखि ९ गते सम्म संचालन गरेको आधारभुत तह कक्षा ८ को परीक्षामा सामुदायिक र संस्थागत गरी ५२ वटा विद्यालयकाका २ हजार ८ सय ६४ विद्यार्थीले फारम भरेका थिए । चैत २३ गते प्रकाशित भएको नतिजामा १ हजार ७८ विद्यार्थी उत्र्तिण भएका थिए । त्यसमा संस्थागत तर्फ ६९.८७ र सामुदायिक तर्फ १४.८० प्रतिसत उत्र्तिण भएका थिए । तर नतिजा सार्वजनिक भएपछि परीक्षामा अनियमितता भएको भन्दैं सार्वजनिक रुपमा बिरोध गरिएको थियो ।
नतिजा प्रकाशनमा अनियमितताको आरोप लागेपछि कोहलपुर नगरपालिकाले चैत २५ गते कार्यपालिका सदस्य एवम् वडा नम्बर १२ अध्यक्ष विरेन्द्र बहादुर शाहको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ एवम् छानविन समिति गठन गरेको थियो । जसको सदस्यहरुमा नेपाल शिक्षक महासंघ कोहलपुरका प्रतिनिधि रामप्रसाद आचार्य, क्रिसा कोहलपुरका प्रतिनिधि बिएल भारती, ज्ञानज्योति मावि चप्परगौडीको प्रअ सुमित्रा न्यौपाने र सदस्य सचिवको रुपमा नगर प्रहरी प्रमुख वीर बहादुर थापा रहनु भएको थियो । उक्त समितिले १३ दिन लगाएर प्रतिवेदन तयार गरेर वैशाख ७ गते बुझाएको थियो ।
जाँचबुझ एवम् छानविन समितिले दिएको तथ्यहरु, त्रुटीहरु र निष्कर्षका आधारमा दिएका रायहरुको आधारमा कोहलपुर नगरपालिकाको बोर्ड बैठकले अनियमिततामा संलग्न व्यक्तिहरुलाई कारबाही गर्ने निर्णय गरेको हो ।
सोमबार बोर्डले गरेको निर्णय नगर प्रमुख आचार्यले सार्वजनिक गर्नु भएको थियो ।
प्रतिवदेनका आधारमा शिक्षा शाखा प्रमुख हमाल, अधिकृत मिजार, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय सिमरी कोहलपुरकी शिक्षण सिकाई सहजकर्ता रोमिना खत्री, नगर शिक्षा प्राविधिक सहायक कर्मचारी बल बहादुर नेपाली, कार्यालय सहयोगी भरत थारुले आफनो पदीय जिम्मेवारी अनुसार काम नगरेको भन्दैं कारबाही गर्ने निर्णय गरिएको छ ।
यसैगरी कोहलपुर सिटी एकेडेमीका संचालक प्रशान्त रिजाल, शिक्षक डम्बर बहादुर खत्री, पंञ्चमुखी इङलिस मिडियम स्कुल कोहलपुरको शिक्षक आशा देवकोटा, रबिन बम, ब्राइट लाइट एकेडेमीका स्कुलका शिक्षक कुवेर ढकाल, वेष्र्टन इङलिस मिडियम सेकेन्डरी स्कुलका शिक्षक रमेश कुमार थारु, कोहलपुर सिटी एकेडेमीका शिक्षक उमेश केसी प्रचलित कानुन, शिक्षा ऐन र नियमावली विपरित काम गरेको प्रतिवेदनमा उल्लेख छ ।
कोहलपुर सिटी एकेडेमीका संचालक प्रशान्त रिजालको निर्देशन र नगरपालिकाको परीक्षा शाखा प्रमुखसँगको मिलेमतोमा नगरशिक्षा शाखाबाट आफनो विद्यालयका ४ जना विद्यार्थीको ६ थान उत्तरपुस्तिका लिएर सक्कल उत्तर पुस्तिका हटाई नक्कली उत्तर पुस्तिका तयार पारेको प्रतिवेदनमा उल्लेख छ । उक्त कार्यमा कोहलपुर सिटी एकेडेमीका आभास बिक्रम क्षेत्री र संचालक प्रशान्त रिजाल दोषी देखिएका छन् ।
शिक्षण सहजकर्ता रोमिना खत्री, बाल विकास शिक्षिका राधिका मल्ल, तारा चन्द, कोहलपुर सिटीको शिक्षक हिरा केसी पनि दोषि देखिएको भन्दैं नगरकार्यपालिकाको बैठकले छानविन समितिको प्रतिवेदनमा दोषि देखिएका कानुनी रुपमा कारबाही गर्ने निर्णय गरेको छ ।