खजुरामा व्यवसाय दर्ता नविकरण अभियान सुरु
Friday, April 26th, 2024, 8:07 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, १४ वैशाख
बाँकेको खजुरा गाउँपालिकामा व्यवसाय दर्ता तथा नविकरण अभियान २०८१ सुरु भएको छ । खजुराको विकास र समृद्धिको आधारः दिगो र फराकिलो स्थानीय कराधार भन्ने मुलनाराका साथ खजुरा गाउँपालिकाको आयोजनामा शुक्रबार देखि व्यवसाय दर्ता तथा नविकरण अभियान– २०८१ सुरु गरिएको हो ।
स्थानिय व्यवसायिहरु लगायत सरोकारबाला पक्षहरुकोे सहभागीतामा खजुरा गाउँपालिका वडा नम्बर १ बाट अभियानको शुभारम्भ भएको छ । व्यवसाय दर्ता तथा नविकरण अभियान– २०८१ को शुभारम्भ अभियान खजुरा गाउँपालिका उपाध्यक्ष तथा स्थानीय राजश्वपरामर्श समिति संयोजक मन्जु मल्लको अध्यक्षता र गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा व्यवसायिहरुलाई व्यवसाय दर्ता गर्ने, नवीकरण गर्ने र असल व्यवसायीको परिचय दिनुपर्ने लगायतका विषयमा छलफल भएको छ । खजुरा गाउँपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका तर पालिकामा व्यवसाय दर्ता नभएका सम्पुर्ण उद्योग, व्यापार, व्यवसायहरूलाई अनिवार्य व्यवसाय दर्ता गराई करको दायरामा ल्याउने र उद्यमी व्यवसायीहरूलाई समग्र गाउँपालिकाको विकासको प्रक्रियामा सहभागी गराउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको खजुरा गाउँपालिका राजश्व शाखा प्रमुख भक्त बहादुर रावतले बताउनु भएको छ ।
गाउँपालिकाले आफ्नो गाउँपालिका क्षेत्रको विकास गर्न र गाउँबासीलाई सेवा सुविधा प्रदान गर्न ठूलो वित्तीय स्रोतको आवश्यकता पर्ने गरेको उहाँले बताउनु भएको छ । गाउँपालिकाको आन्तरिक आयको एक प्रमुख र दिगो स्रोतको रूपमा व्यवसाय कर रहेकोले व्यवसाय दर्ता अभियान २०८१ सञ्चालन गरीएको गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले बताउनु भएको छ ।
………..
तिब्र सहरीकरण, नयाँ बस्ती विस्तार हुदै गएपछि गाउँपालिकामा पछिल्लो समय जनसंख्या वृद्धि, उद्योग, व्यापार, व्यवसायको विकास र विस्तार तिब्र भएको भएपनि जुन अनुपातमा व्यापार व्यवसायको विस्तार भएको छ, त्यहि अनुपातमा गाउँपालिकामा नयाँ व्यवसाय दर्ता हुन नसकेकोले दर्ता नभएका व्यवसायहरुलाई दर्ता गराई करको दायरामा ल्याउने उद्देश्यले दर्ता अभियान सञ्चालन गरिएको छ ।