नेपालगन्जमा मेयर कप पुरुष र उपमेयर कप महिला क्रिकेट हुदैं
Friday, April 26th, 2024, 8:37 pm
Kalpristha
दुर्गा पौडेल
नेपालगन्ज, १४ वैशाख
नेपालगन्ज मेयर कप पुरुष तथा उप–मेयर कप महिला क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ । आयोजक बाँके जिल्ला क्रिकेट संघले आयोजना गर्न लागेको प्रतियोगिता वैशाख १५ गते शनिबारदेखि नेपालगन्ज स्थित मंगलप्रसाद माविको क्रिकेट मैदानमा हुँदैछ ।
प्रतियोगितामा २१ टोलीको सहभागिता रहेको प्रतियोगिता संयोजक मनमोहन लम्सालले बताउनु भयो । प्रतियोगिता आयोजनाको लागि नेपालगन्ज उप–महानगरपालिकासँग सम्झौता दुई महिना अघि भएपनि मैदान अभावका कारण वैशाखमा गर्न लागेको बाँके जिल्ला क्रिकेट संघका उपाध्यक्ष सोफियान पठान खानले बताउनु भयो ।
प्रतियोगिताको पुरुष तर्फको अनुमानित बजेट ७ लाख रुपैयाँ रहेको छ । जसमा उप–महानगरपालिकाले ५ लाख रुपैयाँ र बाँके जिल्ला क्रिकेट संघले २ लाख रुपैयाँ खर्च गर्नेछ । मेयर कप पुरुष तर्फको विजेता टीमले ७५ हजार रुपैयाँ, उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याच, प्रतियोगिताको उत्कृष्ट वलर, ब्याटसम्यान, प्लेयर अफ द सिरिजलाई पुरस्कृत गरिने आयोजक बाँके जिल्ला क्रिकेट संघका सचिव विक्रम श्रेष्ठले शुक्रबार भएको पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो ।
यसैगरी महिला तर्फको प्रतियोगिता आयोजनाको लागि ३ लाख रुपैयाँ आवश्यक पर्ने आयोजकले बताएको छ । त्यसमा २ लाख उप–महानगरपालिकाले सहयोग गर्नेछ भने आयोजकले १ लाख रुपैयाँ खर्च गर्नेछ ।
महिला तर्फको विजेता टिमले २५ हजार रुपैयाँ, उपविजेताले १५ हजार रुपैयाँ, प्रत्येक खेलको प्लेयर अफ द म्याच, प्रतियोगिताको उत्कृष्ट वलर, ब्याटसम्यान, प्लेयर अफ द सिरिजलाई आर्कषक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
विद्यालयको मैदानमा प्रतियोगिता आयोजना गरिएकोले विदाको दिनमा विहान र साझको समय गरी दुई चरणमा खेल हुने प्रतियोगिता संयोजक लम्सालले बताउनु भयो । शुक्रबार भएको पत्रकार सम्मेलनमा संजय सिंह नेपाल क्रिकेट संघका पुर्व उपाध्यक्ष संजय सिंहले नेपालगन्जमा क्रिकेट मैदानमा नहुँदा क्रिकेट खेलाडीहरुको संख्या घटिरहेको बताउनु भयो । मैदान निर्माण गर्नको लागि नेतृत्व तहमा बसेका नेताहरु उदासिन भएका कारण यहाँको क्रिकेटको अवस्था खस्कदो अवस्थामा पुगेको उहाँले बताउनु भयो । नेपालगन्जमा क्रिकेट मैदान निर्माण गर्ने कार्य सुरु भएपनि विभिन्न पक्षको अवरोधका कारण समस्या उत्पन्न भएको बाँके जिल्ला क्रिकेट संघका सदस्य सुनिल सिंह हमालले बताउनु भयो ।