वेस्ट इन्डिज ‘ए’ माथि नेपालको एतिहासिक जित
Saturday, April 27th, 2024, 7:03 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ बैशाख
कप्तान रोहितकुमार पौडेलले ४७ बलमै शतक बनाएसँगै नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो खेलमा एतिहासिक जित हासिल गरेको छ । शनिबार सम्पन्न पहिलो खेलमा नेपालले पाहुना टोली वेस्ट इन्डिज ‘ए’लाई ४ विकेटले पराजित गरेको हो । वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछयाएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनायो ।
अन्तिम ओभरमा नेपाललाई जितका लागि ९ रन चाहिएको थियो । उक्त ओभर गर्न ओशान थोमस आएका थिए । उनको पहिलो बलमा गुल्शनकुमार झाले १ रन मात्रै लिए । दोस्रो बलमा प्रतिश जीसीले पुनः १ रन लिए । तर, तेस्रो र चौथो बलमा लगातार २ चौका प्रहार गर्दै गुल्शनले नेपाललाई जित दिलाए ।
गुल्शनकुमार झा ४ बलमा २ चौकासहित ९ र प्रतिश जीसी २ बलमा १ चौकासहित ५ रनमा अविजित रहे । रोहितले सर्वाधिक ११२ रन बनाए । ५६ बल खेलेका उनले १० चौका र ८ छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरी २४, कुशल मल्ल १६ र कुशल भुर्तेल १६ रनमा आउट भए । वेस्ट इन्डिजका म्याथ्यू फोर्डे र ओबेद म्याककोएले २÷२ विकेट लिए । किमो पलको नाममा १ विकेट रह्यो ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनाएको हो । वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले सर्वाधिक ७४ रन बनाए । ४६ बल खेलेका उनले ९ चौका र २ छक्का प्रहार गरे । एलिक एथानाज ४७, केसी कार्थी ३८ र आन्द्रे फ्लेचरले १३ रन बनाउँदा कादिम एलीन १४ र किमो पल १ रनमा अविजित रहे । नेपालका कमलसिंह ऐरी, रोहितकुमार पौडेल र अविनाश बोहराले १÷१ विकेट रह्यो ।
‘टुडे वाज माई डे’: पौडेल
नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले शनिबार आफ्नो दिन भएको प्रतिक्रिया दिएका थिए । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’विरुद्ध शानदार शतक बनाएका उनले ‘पोस्ट म्याच प्रेजेन्टेसन’मा बोल्दै ‘टुडे वाज माई डे’ भन्दै प्रतिक्रिया दिएका हुन् ।
उनले ५४ बल खेल्दै ११२ रन बनाएपछि फराकिलो लक्ष्य पछ्याएको नेपालले २ बल बाँकी छँदै लक्ष्य भेट्टाएको थियो । शानदार शतक प्रहार गरेपछि आजको ‘प्लेयर अफ दि म्याच’ समेत रोहित बने । त्यस क्रममा प्रतिक्रिया दिँदै कप्तान पौडेलले शनिबार आफ्नो दिन भएको बताएका हुन् ।
सुरुवाती ११ मा अनिल शाहलाई ओपनिङमा ल्याउनु कुनै रणनीति नभएको पनि उनले बताए । ‘पोस्ट म्याच’ प्रतिक्रिया दिने क्रममा उनलाई अनिल शाहलाई ओपनिङमा ल्याउनु रणनीति हो भनेर सोधिएको थियो । ‘अनिललाई ल्याउनु कुनै रणनीति थिएन,’ कप्तान पौडेलले भने, ‘शनिबार शतक प्रहार गर्नुमा मेरो दिन रहेछ ।’ यस्तै वेस्ट इन्डिजविरुद्धको अर्को खेलमा ‘पावर प्ले’को बलिङमा ध्यान दिनुपर्ने देखिएको समेत कप्तान पौडेलले बताए ।