खजुरामा उद्घोषण तालिम सम्पन्न
Sunday, April 28th, 2024, 7:41 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, १६ वैशाख
खजुरा गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा भएको महिलाहरुलाई उद्घोषण तालिम सम्पन्न भएको छ । तिन दिन सम्म चलेको तालिममा खजुरा गाउँपालिकाका महिला जनप्रतिनिधि तथा विभिन्न संघ संस्थामा आवद्ध महिलाहरुको सहभागिता रहेको थियो ।
तालिममा ३० जनाको सहभागिता रहेको थियो । वैशाख १४ देखि १६ गते सम्म चलेको तालिमका सहभागिहरुलाई वरिष्ठ संचारकर्मी ओवीराज आचार्यले मुख्य प्रशिक्षकको रुपमा सहजीकरण गर्नु भएको थियो । आइतबार तालिममा सहभागि भएका महिलाहरुलाई खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक, उपाध्यक्ष मन्जु मल्ल, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुशिला न्यौपाने लगायतले प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
आगामी वर्षमा यो कार्यक्रमलाई अगाडी बढाउने अध्यक्ष विकले बताउनु भयो । बजेट निर्माणका क्रममा यस्ता कार्यक्रमलाई निरन्तरता पाउनका लागि महिला जनप्रतिनिधिले पनि सल्लाह र सुझाव दिन जरुरी रहेको अध्यक्ष विकले बताउनु भयो । समुदायमा पछाडी बढेको समुदायहरु, बर्गहरुको विकास गरेर मात्र संघीयतालाई बलियो बनाउन सकिने भएकोले यस्ता तालिम महत्वपुर्ण हुने उहाँले बताउनु भयो ।
खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले महिलाहरुमा क्षमता र आत्मविश्वासको कमीले गर्दा थुपैै्र अवसरबाट बञ्चित हुनु परेकोले यस्ता तालिम महिलाहरुको व्यक्तिगत विकासमा निकै महत्वपुर्ण हुने बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘तालिममा सहभागिहरुले हुनु भएका महिलादिदी बहिनीहरुले पहिलो चोटी माईक समाउँदा पनि निर्धकका साथ आफनो परिचय दिदैं कार्यक्रम संचालन गर्नु भएको छ । उहाँले अभ्यास गर्ने क्रममा कार्यक्रम संचालन गरेको देख्दा म निकै खुसी भएको छु । यो ठुलो उपलब्धी हो । महिलाहरु नेतृत्व गर्नका लागि सक्षम छन् भन्ने मलाई लाग्छ । त्यसका लागि हामीले आफुलाई आत्मविश्वासका साथ हरेक क्षेत्रमा काम गर्ने हिम्मत गर्नु पर्छ ।’