काँसको ढकिया र थाकलको पातबाट ब्याग बनाउनेमा महिलाहरुको रुची बढ्दै
Saturday, May 11th, 2024, 5:00 am
Kalpristha
काँसको ढकिया र थाकलको पातबाट ब्याग बनाउने तालिममा सहभागि महिलाहरुले आत्मनिर्भर बन्नको लागि तालिम अवधि बढाउनु पर्ने माग गर्नु भएको छ ।
कमल खत्री
नेपालगन्ज, वैशाख २८ गते
नेपालगन्ज नगरभित्रका महिलाहरुमा काँसको ढकिया र थाकलको पातबाट ब्याग बनाउने कार्यमा आर्कषण बढ्दै गएको छ । स्थानीय प्राकृतिक स्रोतबाट निर्माण गरिने यस्ता तालिमले आर्थिक आम्दानीको सम्भावना बढाउँदै जाने भएकोले तालिममा रुची बढ्दै गएको हो । नेपालगन्जमा एक साता सम्म तालिम लिएका महिलाहरुले आफुहरुलाई अझ यस्ता तालिमको खाँचो भएको बताउनु भएको छ ।

तालिमका सहभागिहरु ।
काँसको ढकिया र थाकलको पातबाट ब्याग बनाउने तालिममा सहभागि महिलाहरुले आत्मनिर्भर बन्नको लागि तालिम अवधि बढाउनु पर्ने माग गर्नु भएको छ । महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा वैशाख १६ देखि २३ गते सम्म संचालन भएको तालिममा २० जना भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो । एक साता सम्म तालिमका सहभागिहरुलाई काँसको ढकिया र धाकलको पातबाट ब्याग बनाउन सिकाईएको थियो ।
शुक्रबार प्रमाणपत्र वितरण गर्ने कार्यक्रममा सहभागिले आयोजकलाई केहि दिन आफुहरुलाई तालिममा सहजिकरण गरिदिन आग्रह गर्नु भएको हो । तालिममा सहभागि सरिता चौधरीले आर्यआर्जनको नयाँ सम्भावना खोज्न तालिम सहयोगी भएको बताउनु भयो । उहाँले भन्नु भयो,‘तालिममा सहभागि हुन पाउँदा हामी निकै खुसी छौं । सात दिनको अवधिमा हामीले धेरै कुरा सिक्ने अवसर पायौं । व्यवसायिक रुपमा बजारमा प्रतिस्पर्धा गर्न, बजारको माग अनुसार सामान उत्पादन गर्न अझै सिक्न जरुरी छ ।’
तालिममा सहभागि अर्की सहभागी राधा महताराले घरमा बसेर पनि रोजगारीको अवसर सृजना गर्न सकिने भएकोले तालिम प्रभावकारी भएको बताउनु भयो । स्थानीय स्तरको स्रोत, साधान र वस्तुको प्रयोग गरेर सामान उत्पादन हुँदा नयाँ सम्भावनाको विकास गर्न तालिम सहयोग बनेको उहाँले बताउनु भयो । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ र आयोजक महिला उद्यमी संघ नेपाल बाँकेको आर्थिक लगानीमा सात दिने एक महिला क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत काँसको ढकिया र थाकलको पातबाट ब्याग बनाउने सिपमुलक तालिम आयोजना गरिएको थियो ।
महिलाहरुलाई उद्यमसँग जोडनको लागि यस्तो तालिम प्रभावकारी हुने भएकोले अन्य वडासँगको सहकार्यमा संयुक्त रुपमा आयोजना गरिनुपर्ने नेपालगन्ज उप महानगरपालिका वडा नम्बर २ अध्यक्ष मनोज श्रेष्ठले बताउनु भयो । उहाँले भन्नु भयो,‘समय छोटो हो । यसमा दुई मत छैन । वडाले यस्ता अन्य तालिम गरिरहेको छ । बजारको माग बढने हो भने तालिम अवधि बढाउन सकिन्छ । आर्थिक रुपमा संकट भएको बेला सिपमुलक तालिम आवश्यक छ । रोजगारको अभाव भएको बेला महिलाको जनजीवनलाई आर्थिक रुपमा सहज बनाउन तालिम महत्वपुर्ण बन्न सक्छ ।’ महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले नेपालगन्जको कोसेली घरमा भएको काँसको ढकिया र थाकलको पत्ताबाट झोला बनाउने सिपमुलक तालिम प्रभावकारी भएको वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

तालिमका सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिदैं ।
महिला उद्यमी संघ नेपाल बाँकेको आयोजना र नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ को समन्वयमा भएको तालिममा नेपालगन्ज नगरभित्रका १० जना एकल महिला र १० जना अन्य महिलाहरुको सहभागिता रहेको थियो ।
एक लाख रुपियाँ लागतमा सुरु भएको तालिमका सहभागि १० जना एकल महिलाको लागि ५० हजार रुपैयाँ नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ ले र १० जना अन्य महिलाहरुको तालिमको लागि ५० हजार रुपैयाँ आयोजक महिला उद्यमी संघ नेपाल बाँकेले आर्थिक सहयोग गरेको थियो ।
तालिममा सहभागि भएकाहरुलाई प्रशिक्षक अन्जली चौधरी र कमल चौधरीले प्रशिक्षण दिनु भएको थियो । आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष सावित्रा बस्नेत पोख्ररेलले महिलाहरुलाई सक्षम उद्यमी बनेर आफनो स्वपहिचान बनाउन तालिमले सहयोग गर्ने बताउनु भयो । उहाँले भन्नु भयो,‘बजारमा धेरै माग बढेकोेले तालिम गरेको हौं । नव उद्यमी उत्पादन गर्नको लागि तालिम सहयोगी बनेको छ । एकल महिलाहरुलाई नव उद्यमी बनाउने हाम्रो लक्ष्य थियो । त्यसमा अन्य महिलालाई सहभागि गराएका छौं ।’
तालिम लिएका महिलाहरुलाई उद्यमी बन्नको लागी संघले उत्प्रेरित गर्ने अध्यक्ष बस्नेत पोख्ररेलले बताउनु भयो । उहाँले भन्नु भयो, ‘सहभागिहरुले तालिमको समय बढाउन माग गर्नु भएको छ । यो उत्कृष्ट कार्यक्रम हो । अन्तराष्ट्रिय स्तरको मापदण्ड अनुसारको वस्तु उत्पादन गर्नको लागि अझै १५ दिन समय लाग्छ । त्यसपछि उहाँहरु नयाँ उद्योगी बन्न सक्नुहुनेछ । विश्व बजारमा यस्ता समानको माग भएकोले सम्भावनाहरु धेरै छन । हामीले कोशिली घर मार्फत बजारीकरणमा सहयोग गर्नेछौं ।’
महिला उद्यमी संघ नेपाल बाँके सचिव नितु चन्दले एक महिलाहरुको नेतृत्व विकास गर्दै उद्यमी बन्न तालिम उपलब्धीमुलुक बनेको बताउनु भयो । तालिमको समापन अवसरमा संघको दिृतीय उपाध्यक्ष आभा गौतमले स्वागत मन्त्व्य राख्दैं तालिममा सिकेका सीपहरुलाई आफनो व्यवहारमा उर्तान सहभागीहरुलाई सुझाव दिनु भएको थियो ।