दशनामी समाजले मनायो जगत गुरु शंकराचार्यको जन्मजयन्ती
Sunday, May 12th, 2024, 8:37 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३० बैशाख
नेपालगन्जमा जगत गुरु शंकराचार्यको जन्मजयन्ती मनाइएको छ । नेपाल दशनामी समाज जिल्ला कार्यसमिति बाँकेको आयोजनामा आइतबार एक कार्यक्रमका बीच जगत गुरु शंकाराचार्यको जन्मजयन्ती मनाइएको हो । जिल्ला अध्यक्ष गोपालप्रसाद गिरीको अध्यक्षता एवम् केन्द्रीय उपाध्यक्ष गोपाल गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न १२३७औं जन्मजयन्ती मनाउने कार्यक्रममा बैदिक सनातन धर्म प्रचारक हिन्दु धर्मका संरक्षक हिन्दु आर्य संस्कृतिका सन्यासी जगत गुरु शंकाराचार्यको महिमामाथि चर्चा गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गोपाल गिरी, नेपाल दशनामी समाजका केन्द्रीय सल्लाहकार केशर गिरी, बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी, दशनामी समाजका पूर्व केन्द्रीय सचिव नारद पुरी, लुम्बिनी प्रदेश सचिव होमनाथ गिरी, हडियाबाबा मन्दिरका पुजारी सोमनाथ गिरी, ब्राहमण समाजका केन्द्रीय सदस्य पुष्पराज कँडेल, विश्व हिन्दु महासंघ बाँकेका भिम सापकोटा, दशनामी समाजका डुडुवा गाउँपालिका अध्यक्ष हिम बहादुर गिरी, दर्शन समाज बाँकेका उपाध्यक्ष जय बहादुर मल्ल, दशनामी समाजका संस्थापक सचिव गोपाल गिरी, दशनामी समाज लुम्बिनी प्रदेश सदस्य रुक्मिणा भारती, दशनामी समाजका संस्थापक सदस्य खगेन्द्र गिरी लगायतले जगतगुरु शंकाराचार्यको व्यक्तित्व, महिमा र गाथाबारे बोलेका थिए ।
जिल्ला अध्यक्ष गोपालप्रसाद गिरीले दशनामीहरुले आफ्ना गुरु शंकराचार्यलाई विशेष आस्था र सम्मानका साथ सम्झनुपर्नेमा जोड दिए । नेपाल दशनामी समाज बाँकेकी उपाध्यक्ष हुमकला गिरीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव डिल्ली गिरीले गरेका थिए ।
पूर्वीय दर्शनका एक विशिष्ट व्यक्तित्वको रूपमा आठौं शताब्दीको अन्तिमतिर भारतमा जन्मिएका जगत गुरु शंकराचार्य वेदान्त दर्शनको शांकर भाष्यका प्रणेता हुन् । इतिहासकारहरु शंकराचार्यको ७८८ ईस्वीमा जन्म भएको र ८२० ईस्वीमा मृत्यु भएको मान्छन् ।
सानै उमेरदेखि तीक्ष्ण बुद्धिको मानिएका उनले आफ्नो ८ वर्षको उमेरमा नै चारै वेदमा कण्ठ पारिसकेका थिए । दश वर्षको उमेरमा आचार्य शङ्करले सनातन हिन्दु धर्मको समन्वय र पुनरुत्थान गर्ने संकल्प लिएर देशव्यापी भ्रमण सुरु गरे । उनी अत्यन्त चिन्तनशील व्यक्ति थिए । ३२ वर्षको उमेरमा नै मृत्युवरण भोगेका शंकराचार्य वेदान्तको शांकर मतका प्रवर्द्धक हुन् ।