आदेश अग्रवाल र भण्डारीलाल खुले जसपामा
Sunday, May 12th, 2024, 8:40 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३० बैशाख
लुम्बिनी प्रदेशसभाका दुई सांसद अशोक राई नेतृत्वमा नवगठित जनता समाजवादी पार्टी (जसपा)मा खुलेका छन् । प्रदेशसभा सदस्यहरू आदेश कुमार अग्रवाल र भण्डारीलाल अहिर यादवले लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा गई जसपाको पक्षमा सनाखत गरेका हुन् ।
दुवै जना बाँके क्षेत्र नं. २ को १ र २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद हुन् । अहिर लुम्बिनी प्रदेशको कृषि मन्त्री समेत रहेका छन् । लुम्बिनी प्रदेशमा ३ जना सांसद रहेकोमा अव उपेन्द्र यादव तिर समानुपातिक सांसद अम्बिका काफ्ले मात्रै रहेको जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताए ।
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको तयारी
जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको छ। सरकारबाट समर्थन फिर्ता लिने विषयमा अहिले बालकुमारीस्थित पार्टी कार्यालयमा छलफल चलिराखेको पार्टीका एक नेताले बताए ।
प्रदेशमा माओवादी र एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने भइसकेपछि जसपा नेपालले पनि केन्द्रमा सरकारबाट समर्थन फिर्ता लिने बताइएको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले त्यही विषयमा छलफल गर्नका लागि आइतबार आकस्मिक बैठक बोलाएका थिए । अध्यक्ष यादवले आइतबार माओवादीका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई छुट्टाछुट्टै भेटेका थिए । सरकारको विषयमा त्यहाँ कुरा नमिलेपछि उनले पार्टीको बैठक बोलाएका हुन् । स्रोतले भन्यो– ‘सम्भवतः सरकारबाट जसपा फिर्ता हुन्छ ।’